वैकल्पिक शिक्षा पद्दतिलाई संक्रमण अवधिभर मूल प्रणालीको मान्यता

काठमाडौ । सरकारले विद्यालय शिक्षामा वैकल्पिक पद्धतिबाट सिकेका सिकाइलाई मान्यता दिन क्रेडिट गणना गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमणको जोमिखमका कारण विद्यालयहरु सञ्चालन हुन नसकेपछि सरकारले होम स्कुलिङ, रेडियो शिक्षा, टेलिभिजन शिक्षण, अनलाइन कक्षा लगायतका वैकल्पिक सिकाइलाई मान्यता दिनेगरी क्रेडिट गणना गर्ने भएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शुक्रबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गर्दै वैकल्पिक शिक्षालाई कोभिड १९ को संक्रमण अवधिभर मूल प्रणालीको रुपमा विकास गरी मान्यता दिन क्रेडिट गणना गर्न लागिएको जानकारी दिए ।

महामारिको अन्त्यपछि पनि वैकल्पिक पद्दतिलाई विद्यालय र विश्वविद्यालय शिक्षाको पूरक पद्धतिको रुपमा विकास गर्दै लैजाने पनि उनले बताए । विद्यालयको शैक्षिक सत्र, २०७७ को करिब साढे चार महिना वितिसकेको अवस्थामा अहिलेको पाठ्यक्रमलाई अगाडि बढाउन कठिन हुने देखिएकोले विद्यालय शिक्षाका पाठ्यक्रमको संश्लेषण गर्ने निर्णय भएको पनि मन्त्रालयले गरेको छ । अत्यावश्यक विषयवस्तु समेटने गरी पाठ्यक्रमको संश्लेषित कार्यढाँचा जारी गरिने मन्त्री पोखरेलले बताए । भदौ महिना भित्र संश्लेषित पाठ्यक्रम विद्यालयहरुलाई उपलब्ध गराइसक्ने मन्त्रालयले जनाएको छ । विश्वविद्यालयका लागि कम्तिमा ६ महिनाको कोभिड केन्द्रीत क्यालेण्डर सार्वजनिक गर्न निर्देशन मन्त्रालयले दिएको छ ।

तपाईको प्रतिक्रिया

Techie