विश्वभर कोरोना संक्रमितको संख्या ६८ लाख ८० हजार नाघ्यो, संक्रमितमध्ये करिब ५० प्रतिशत निको भएर घर फर्किए

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६८ लाख ८० हजार नाघेको छ । संक्रमणबाट ३ लाख ९८ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकामा संक्रमितको संख्या १९ लाख ६६ हजार नाघेको छ । त्यहाँ १ लाख ११ हजार ४ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । अमेरिकापछि संक्रमितको संख्या ब्राजिलमा बढी रहेको छ । त्यहाँ संक्रमितको संख्या ६ लाख ४६ हजार नाघेको छ भने ३५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । रुसमा संक्रमितको संख्या चार लाख ४९ हजार नाघेको छ भने ५ हजार ५ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । भारतमा संक्रमितको संख्या २ लाख ३६ हजार नाघेको छ भने ६ हजार ६ सयभन्दा बढीको मृत्यु भैसकेको छ । पाकिस्तानमा संक्रमितको संख्या ८९ हजार ३ सय नाघेको छ । त्यहाँ १ हजार ८ सय ३८ जनाले ज्यान गुमाएका छन् । बेलायत, स्पेन, इटाली, फ्रान्स लगायतका युरोपेली मुलुकमा भने संक्रमण र मृत्यु दर घटेको छ । संक्रमणबाट हालसम्म बेलायतमा ४० हजार २ सय, इटलीमा ३३ हजार ७ सय, स्पेनमा २७ हजार १ सय र फ्रान्समा २९ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । विश्वभर ३३ लाख ८० हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

Techie