विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७ जारी

काठमाडौ । सरकारले कोरोना संक्रमणको जोखिम नभएका अथवा कम भएका स्थानीय तहमा विद्यालय सञ्चालन गर्न पाउने गरी ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ जारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यविधि तयार गरी विद्यालय सञ्चालन गर्ने निर्णय सम्बन्धित स्थानीय तहलाई दिनेगरी कार्यढाँचा सार्वजनिक गरेको हो । कार्य ढाँचाले विद्यालयको जोखिम नभएका स्थानहरुमा, जोखिम कम हुँदै गएका स्थानहरुमा स्थितिको आकलन समिक्षा गरेर स्थानीय तहले विद्यालयहरुलाई विभिन्न मोडालिटीमा सञ्चालन गर्न सक्ने र जोखिम बढेमा त्यसको अवस्था हेरी विद्यालय बन्द गर्ने प्रावधानलाई व्यवस्थित गरेको छ ।
स्थानीय सरकारबाट प्राप्त भएका सुझावहरुको आधारमा स्थितिको समिक्षा गरेर स्थानीय तहबाट निर्णय हुन सक्नेगरी कार्यढाँचा जारी गरिएको हो । कार्यढाँचामा विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचाको अधिनमा रहेर निर्णय गर्ने अधिकारलाई स्थानीय तहलाई दिइएको छ ।
कोभिड–१९ रोकथामका लागि सरकारले गठन गरेको ‘कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति’को गत चैत ५ गतेको निर्णयले देशै भरका शिक्षण संस्थाहरु बन्द गरेको थियो । यो अवस्थामा कतिपय विद्यालयहरुले अनलाइन माध्यमबाट अध्ययन अध्यापन सञ्चालन गरिरहेका छन् । तर सबै विद्यार्थीहरुको पहुँचमा अनलाइन प्रणाली पुग्न सकेको छैन् । कार्यढाँचा जारी भएपछि भने अवदेखि जोखिम मूल्याङ्कन गरी स्थानीय सरकारले विद्यालय सञ्चालन गर्न दिन पाउने भएका हुन् । विद्यालय सञ्चालन गर्दा जनस्वास्थ्य एवं सुरक्षा सम्बन्धी मापदण्डहरु भने पूर्णरुपमा पालना गर्नुपर्नेछ । त्यसको अनुगमन स्थानीय सरकार आफैले गर्न सक्नेछ ।

तपाईको प्रतिक्रिया

Techie