ललितपुरले ७७ वर्षमाथिका नागरिकलाई कोरोनाविरूद्ध दोस्रो खोप लगाउने

काठमाडौ । ललितपुर महानगरपालिकाले ७७ वर्षमाथिका नागरिकलाई कोरोनाविरूद्धको कोभिशिल्ड खोपको दोस्रो डोज दिने भएको छ । महानगरले सूचना जारी गर्दै बुधबारदेखि दोस्रो मात्रामा खोप लगाइने बताएको छ। बुधबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाइनेछ।
महानगरीय खोप समन्वय समितिको असार ७ गते बसेको बैठकले खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।महानगरसँग करिब २५ सय डोज खोप बाँकी रहेको छ । यसमध्ये ललितपुरमा ७७ वर्षमाथिका २२२० जनाले कोभिशिल्ड खोपको दोस्रो डोज लिन बाँकी रहेको छ । बाँकी खोप जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्वयंसेवकहरुलाई दिइनेछ ।

खोप लगाउन आउने व्यक्तिले पहिलो डोज खोप लगाएको कार्ड र उमेर खुलेको प्रमाण कागजसमेत अनिवार्य रुपमा ल्याउनुपर्नेछ । त्यस्तै सम्बन्धित वडाबाट प्राप्त सिफारिस नामावलीका आधारमा कुपनको व्यवस्था गरिने महानगरले जनाएको छ ।

महानगरपालिकाले खोप लगाउन आठ वटा खोप केन्द्र तोकेको छ।

तपाईको प्रतिक्रिया

Techie