लमजुङको मस्र्याङदीमा पहिरोले ३० घर पुरियो

काठमाडौ । अबिरल वर्षापछिको पहिरोले लमजुङको मस्र्याङदी गाउँपालिका ३ पल्लोटारीका ३० घर पुरिएका छन् । पहिरोमा परेर आठ जना घाइते भएका छन् । रातभर परेको पानीका कारण गाउँ माथिबाट पहिरो खसेर घरहरु पुरिएका हुन् । बुधवार र विहीवार विहान गाउँ माथिबाट ठूलो पहिरो खसेर घर पुरेको हो । पहिरो खसेपछि भाग्ने क्रममा २५ वर्षीया सिर्जना गोतामे, १३ वर्षीया कविता बसेल र ७० वर्षीय देवबहादुर सार्की लगायत आठ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ । ८० घरधुरी रहेको गाउँमा ३० घर पुरै पहिरोले पुरेको छ । बाँकी सबै घरमा आंशिक क्षति पुगेको छ । पहिरोले पुरेको ३० घर र बाँकी ५० गरी ८० घर नै स्थानान्तरण गरिएको छ । मंगलबार ४ घरमा पहिरो पसेको र बुधबार थप २६ घरसहित ३० घर पुरेको गाँउपालिकाले जनाएको छ । गाउँमा पुनः पहिरो जान सक्ने र घर बगाउने सम्भावना रहेकाले उनीहरुलाई तरापुको धनेश्वर आधारभूत विद्यालय, सामुदायिक भवन लगायतका स्थानमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

Techie