लकडाउनको समयलाई सदुपयोग गर्नेहरु अहिले स्वरोजगार बन्दै

काठमाडौं:  कोरोना संक्रमण रोकथामका लागि चैतपछि जारी गरिएका निषेधाज्ञाले धेरै उद्योग कलकारखाना प्रभावित भए । यो अवधिमा धेरै मानिसहरु बेरोजगार भए । धेरैलाई प्रतिकुल बनेको लकडाउनको समयलाई सदुपयोग गर्नेहरु भने अहिले स्वरोजगार बन्दै आम्दानी गरिरहेका छन् ।
मकबानपुरको हेटौडा–६ शान्तिटोलका भरत सापकोटा लकडाउनको समयलाई सदुपयोग गरेर स्वरोजगार बन्न उदहारणीय व्यक्ति बनेका छन । लकडाउनका कारण आफुले लाखौं लगानी गरेर सञ्चालन गरेको नीजि विद्यालय बन्द भएपछि उनलाई बैंकको व्याज तिर्न समेत समस्या भयो । त्यसैले आप्mनो पु¥ख्यौली जमिनमा उनले व्यवसायिक ढंगबाट एकिकृत कृषि फार्म सुरु गरे । लकडाउन कै बीचमा कुखुरा, माछा र तरकारी खेति सुरु गरेका सापकोटाले अहिले राम्रो आम्दानी लिन थालिसकेका छन ।

हार्डवेयर र कस्मेटिक पसल सञ्चालन गरिरहेका हेटौंडा–६ चुच्चेखोलाका प्रमेश पराजुली र कल्पना पराजुलीको परिवारले पनि लकडाउन कै बीचमा व्यवसायिक तरकारी खेति शुरु गरेको छ । उनीहरुको परिवारले पहिलो उत्पादनमै ३ लाख रुपैयाँ बढीको तरकारी बिक्री गरिसकेको छ । उनीहरु आफु त स्वरोजगार भए नै, अरुलाई पनि काम दिने अवस्थामा पुगेका छन ।

लकडाउन र निषेधाज्ञाका कारण बेरोजगार भएकाहरुलाई लक्षित गरेर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ ले स्वरोजगार कार्यक्रम शुरु गरेको छ । बेरोजगारहरुलाई व्यवसायिक कृषि, पशुपालन, माछापालन जस्ता क्षेत्रमा अनुदानको लागि वडा कार्यालयले लगानी गरेको छ । यसबाट रोजगार गुमाएका, विपन्न परिवार र एकल महिलाले लाभ हासिल गरेका छन् ।

हेटौंडा–६ मा मात्रै लकडाउनपछि ४० भन्दा बढी परिवारले व्यवसायिक कृषिलाई आफ्नो आम्दानीको स्रोतको रुपमा अगाडी बढाएका छन् । तर सिपमुलक तालिम र पर्याप्त लगानी नहुँदा उनीहरुले अपेक्षित लाभ हासिल गर्न भने सकिरहेका छैनन् ।

तपाईको प्रतिक्रिया

Techie