रुसी राष्ट्रपति पुटिनको कार्यअवधि थप लम्बिने संकेत

 

रुसी संसदले मुलुकको संविधान संशोधन गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनको प्रभावमा रहेको तल्लो सदन स्टेट ड्युमामा भएको मतदानमा संविधान संशोधनको पक्षमा तीन सय ८३ तथा विपक्षमा शून्य मत परेको हो । मतदानका बेला सदनमा ४३ जना सांसद अनुपस्थित रहेका थिए । संसदबाट स्वीकृत भएको संविधान संशोधनसम्बन्धी उक्त प्रस्तावमाथि आगामी अप्रिल २२ मा राष्ट्रव्यापी मतदान हुने छ । उक्त कदमको विरोधमा रहेका व्यक्तिहरुले राष्ट्रपतिको कार्यको भत्र्सना गर्दै यसविरुद्ध प्रदर्शन गर्ने बताएका छन् । ड्युमाले बुधबार पारित गरेको संविधान संशोधन प्रस्ताब बमोजिम राष्ट्रपति पुटिनले सन् २०२४ पछि अरु दुई कार्यकालका लागि राष्ट्रपतिको उम्मेदवार बन्न पाउनेछन् । राष्ट्रिय मतदान हुनुअघि रुसको संवैधानिक अदालतले ड्युमाको प्रस्तावमाथि विचार गर्नेछ । ड्युमाले गरेको संशोधन प्रस्तावले रुसी सरकारको कार्यकारी शक्ति अरु मजबूत गर्ने तथा राष्ट्रपतिको अधिकार क्षेत्रलाई अझ व्यापक बनाउने छ ।

तपाईको प्रतिक्रिया

Techie