रुसद्वारा कोरोना भाइरस विरुद्ध खोप अभियान सुरु

रुसले कोरोना भाइरस विरुद्ध खोप अभियान सुरु गरेको छ। राजधानी मस्कोका क्लिनिकहरूमा कोरोना भाइरसको उच्च जोखिममा रहेका मानिसहरूलाई खोप दिन थालिएको हो । मस्को नगरप्रमुख सर्गे सोब्यानिनका अनुसार एक करोड ३० लाख जनसख्या रहेको मस्कोमा विद्यालय, स्वास्थ्य क्षेत्र अनि सामाजिक कार्यमा संलग्न मानिसहरूलाई खोप दिन लागिएको बताएका छन । खोप लिन योग्य ठहर भएका १८ देखि ६० वर्षका मानिसले सहरका ७० स्थानमा रहेका क्लिनिकहरूमा निःशुल्क सुविधाका लागि अनलाइन सेवामार्फत् आफ्नो नाम दर्ता गर्ने व्यवस्था गरिएको छ । पछिल्लो ३० दिनमा सुई लिएका वा श्वासप्रश्वासमा समस्या भएकाहरूलाई खोप नदिइने बताइएको छ । त्यस्तै दीर्घरोगी, गर्भवती र स्तनपान गराइरहेका महिलालाई पनि खोप नदिइने बताइएको छ । रुसमा गत अगस्ट महिनामा दर्ता भएको स्वदेशमै निर्मित स्पुत्निक फाइभ खोपको प्रयोग भइरहेको छ । खोप विकासमा संलग्न अधिकारीहरूले उक्त खोप ९५ प्रतिशत प्रभावकारी रहेको र यसको प्रयोगबाट कुनै उल्लेख्य नकारात्मक प्रभाव नदेखिएको बताएका छन । तर सो खोपको अझै सामूहिक परीक्षण भइरहेको छ । दुई पटक लगाउनुपर्ने खोप लिन हजारौँ सर्वसाधारणहरूले आफ्नो नाम दर्ता भएका छन् । तर रुसको उत्पादन क्षमता कति छ भन्ने स्पष्ट भैसकेको छैन । उत्पादकहरूले यो वर्षको अन्त्यसम्ममा खोपको २० लाख मात्रा मात्रै उत्पादन गर्न सक्ने अपेक्षा गरिएको बताएका छन ।

तपाईको प्रतिक्रिया

Techie