राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गर्ने ह्याकरको चेतावनी  

धम्कीपूर्ण फोन र इमेल आएपछि अनुसन्धान सुरु

काठमाडौ । नेपाल राष्ट्र बैंकसहित पन्ध्र वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोरी गर्ने धम्कीपुर्ण फोन र इमेल आएको पाइएको छ । बैंकका अधिकारीलाई अपरिचित नम्बरबाट फोन र इमेल आएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको हो । ह्याकरले राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई पठाएको इमेलमा राष्ट्र बैंकसहित १५ वटा बैंकको सिष्टम ह्याक गर्ने उल्लेख छ । सोही पत्र राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको इमेलमा पनि आएको बताइएको छ । अमेरिकाबाट टेलिफोन गरेर राष्ट्र बैंकसहित नेपाल बैंक र नबिल बैंकको सिस्टम ह्याक गर्न लागिएको जानकारी समेत आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । धम्कीपुर्ण जानकारीपछि राष्ट्र बैंकले बैंकको सिस्टम चेक गर्न र सम्भावित जोखिम न्यूनीकरणका लागि उपाय अपनाउन बैंकहरुलाई आग्रह गरेको छ । इमेलमार्फतको पत्र र टेलिफोन कलबारे थप अनुसन्धान भैरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

Techie