राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने

काठमाडौं:  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने भएको छ । शनिबार काठमाडौंमा आयोजित उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनरस्थापनाको माग गर्दै राप्रपा आन्दोलनमा जान लागेको जानकारी दिएका हुन । पछिल्लो समय देशभर हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा व्यापक जनआवाज उठिराखेकोले त्यसमा राप्रपाको समेत समर्थन रहेको अध्यक्ष राणाले बताए । अहिलेको बहुमत प्राप्त सरकारले जनताको अभिमतको दुरुपयोग गरिरहेको र त्यसको पूर्ण रुपमा विरोध गर्दै मुलुकमा हिन्दु राष्ट्र र राजसंस्था पुनरस्थापना गर्न दवाव दिन पनि आन्दोलन आवश्यक रहेको उनको भनाइ छ ।

अध्यक्ष राणाले महँगी नियन्त्रण, बेरोजगारी समस्या समाधान गर्न, भ्रष्ट्राचार नियन्त्रण गर्न, संगठित धर्म परिवर्तन रोक्न सरकार असफल भएकाले पनि राप्रपा सडकमा उत्रनुपरेको बताए । अर्का अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा स्वस्फुर्त रुपमा भइरहेको प्रदर्शनमा राप्रपाको समर्थन रहेको र अव हुने आन्दोलनको नेतृत्व राप्रपाले गर्ने बताए ।

कार्यक्रममा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कोरोना महामारी नियन्त्रण गरी आर्थिक विकास गर्न सरकार पुर्णरुपमा असफल भएको बताउँदै जनताले चाहेको परिवर्तनलाई संस्थागत गर्न पनि आन्दोलन आवश्यक रहेको बताए । केही समयदेखि राप्रपाले संबैधानिक राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै देशभर प्रदर्शन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

Techie