राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पूरा गऱ्यो पाँच वर्ष, पुनर्निर्माण अझै पूरा हुन सकेन

काठमाडौं:  २०७२ साल बैशाख १२ गतेको भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण र पुनस्र्थापनाका लागि स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आज पाँच वर्ष पूरा गरेको छ । यो अवधिमा प्राधिकरणले भूकम्प प्रभावित ३२ जिल्लामा नब्बे प्रतिशत पुर्ननिर्माणको काम पुरा गरेको जनाएको छ ।

शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निमाणका लागि ७ लाख ९६ हजार २ सय ४५ लाभग्राहीहरुसँग अनुदान सम्झौता गरेकोमा ५ लाख ५६ हजार ४ सय ८७ घर पुनर्निर्माण सकिएको बताएका हुन । १ लाख ६८ हजार ८३ अर्थात २१ प्रतिशत लाभग्राहीहरु घर पुनर्निर्माणको अन्तिम चरणमा रहेका छन् । बाँकी लाभग्राहीहरुले यसै आर्थिक वर्ष भित्र पुनर्निर्माण सम्पन्न गर्ने बताइएको छ । भूकम्पपछि असुरक्षित स्थानमा रहेका ४ हजार २ सय ५७ लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा मिलाउने काम भएको छ भने ११ हजार ४ सय ३७ भूमिहिन तथा सुकुम्बासी लाभग्राहीलाई साविककै स्थानमा घर बनाउन अनुमति दिएको छ । यस्तै १ हजार ३ सय ५१ लाभग्राहीले जग्गा खरिद गर्न अनुदान उपलब्ध गराउने निर्णय पनि प्राधिकरणले गरेको छ । निर्माणाधिन १ सय ३० एकीकृत बस्ती मध्ये ५० वटा एकीकृत बस्तीको पुनर्निर्माण सम्पन्न भइसकेको छ ।

क्षतिग्रस्त ९ सय २० वटा सम्पदा मध्ये ४ सय ६५ वटा सम्पदाको पुनर्निमाण सम्पन्न भएका छन । यस्तै ७ हजार ५ सय ५३ विद्यालय मध्ये ६ हजार ८५ पुनर्निर्माण सम्पन्न भइसकेको छ । क्षतिग्रस्त १ हजार १ सय ९७ वटा क्षतिग्रस्त स्वास्थ्य संस्थामध्ये ६ सय ९८ वटाको पुनर्निर्माण भएका छन । सडक तथा खानेपानी तर्फको पुनर्निर्माणमा पनि उच्च प्रगति भएको प्राधिकरणको दावी छ ।

पुनर्निर्माणका खालसम्म ३ खर्ब ३९ अर्ब रुपैयाँ खर्च भएको छ । भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण र पुनस्र्थापनाका लागि २०७२ पुष १० गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्थापना भएको थियो । प्राधिकरणले भूकम्प प्रभावित ३२ जिल्लामा काम गरिरहेको छ । कोरोनाका कारण पुनर्निर्माण कार्य प्रभावित भएपछि सरकारले प्राधिकरणको कार्यवधि २०७८ पुष १० गते सम्म थप गरिएको छ ।

तपाईको प्रतिक्रिया

Techie