राष्ट्रियसभामा नवनिर्वाचित सदस्यको शपथ आज

काठमाडौं : राष्ट्रियसभामा नवनिर्वाचित १८ सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ । संघीय संसद् भवनको ल्होत्से हलमा बिहान ११ बजे सदस्यहरूको शपथ हुनेछ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनियुक्त सदस्यहरूको शपथ गराउनेछन् ।

एक तिहाइको कार्यकाल दुई वर्षमा सकिने संवैधानिक प्रावधान अनुसार रिक्त हुने स्थानमा माघ २४ गते निर्वाचन भएको थियो । निर्वाचित सदस्यहरूले शपथसँगै औपचारिक रूपमा राष्ट्रियसभा सदस्य हुनेछन् ।

निर्वाचन भएका १८ स्थानमध्ये १६ सिट सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले जितेको छ । राष्ट्रिय जनता पार्टीले दुई सिटमा जित हासिल गर्दा अन्य दलले कुनै पनि स्थानमा जित हासिल गर्न सकेका छैनन् ।

मन्त्रिपरिषद्बाट मनोनीत हुने एक सदस्य सरकारले सिफारिस गरिसकेको छैन । मंगलवारवारदेखि सभाका १९ सदस्यको कार्यकाल सकिएको छ ।

पहिलो पटक निर्वाचन भएपछि सदस्यहरूको कार्यकाल गोलाप्रथाबाट निर्धारण गरिएको थियो । जसमा पहिलो दुई वर्षको कार्यकाल रहेका १९ जनाको औपचारिक रूपमा राष्ट्रिय सभाबाट बिदाइ भएको छ ।

तपाईको प्रतिक्रिया

Techie