राष्ट्रियसभाका १९ सांसदको कार्यकाल सकियो, बाहिरिने क्रममा सांसदहरुले सुनाए आफ्नो दुई वर्षे अनुभव

काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभामा आफ्नो दुई वर्षे कार्यकाल पुरा गरेर आजबाट १८ जना सांसद बिदा भएका छन् । वर्तमान सरकारका अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डाक्टर युवराज खतिवडाको पनि आजैदेखि सांसदको कार्यकाल सकिएको छ । तर वहालवाला अर्थमन्त्री रहेका खतिवडाले संविधान अनुसार मन्त्री पदमा थप ६ महिना रहन पाउने छन् । दुईवर्षे कार्यकाल पूरा गरेर बिदा हुनेमा नेकपाका ८, कांग्रेसका ६, राजपाका २, समाजवादीको १ र राष्ट्रपतिबाट मनोनित एकजना सांसद रहेका छन् । उनीहरुको ठाउँमा नयाँ सांसद निर्वाचित भैसकेका छन् भने डाक्टर खतिवडाको ठाउँमा राष्ट्रपतिले नियुक्त गर्ने एकजना सांसद भने टुङ्गो लाग्न बाँकी रहेको छ । पदावधि सकिनेमा प्रदेश १ बाट सरिता प्रसाईं र हरिशरण शिवाकोटी, प्रदेश २ बाट रमेशप्रसाद यादव र मुक्ताकुमारी यादव, प्रदेश ३ बाट बलरामप्रसाद बाँस्कोटा र धनकुमारी खतिवडा, गण्डकी प्रदेशबाट सुरेन्द्रराज पाण्डे र बिन्दादेवी आले रहेका छन् । त्यस्तै प्रदेश ५ बाट मीना बुढा र दुर्गाप्रसाद उपाध्याय, कर्णाली प्रदेशबाट युटोल तामाङ र कालीबहादुर मल्ल तथा सुदूरपश्चिम प्रदेशबाट बद्रीप्रसाद पाण्डे र कमलाकुमारी ओली रहेका छन् । त्यस्तै सांसदहरु खेमराज नेपाली, रामप्रित पासवान, राजकुमार कुँवर, वृषेशचन्द्रलालको पनि पदावधि सकिएको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा विदाइ हुने सांसदले आफ्नो दुई वर्षे कार्यकालको अनुभव सुनाएका थिए ।

तपाईको प्रतिक्रिया

Techie