राष्ट्रपतिका सल्लाहकार प्याकुरेलले दिए राजीनामा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका छन् । प्याकुलले शुक्रबार राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन् । उनी ०७४ मा भण्डारीको राजनीतिक सल्लाहारकारमा नियुक्त भएका थिए । भण्डरीको पहिलो कार्यकालमा उनी दुई वर्ष राजनीतिक सल्लाहकारको जिम्मेवारीमा थिए ।

सत्तारुढ नेकपाले सभामुखको उम्मेदवारका रुपमा अग्नि सापकोटालाई अगाडि सारेपछि उनीले राजीनामा दिएको बुझिएको छ । प्याकुरेलले काभ्रेका अर्जुन लामाको हत्या आरोपमा सापकोटाविरूद्ध २०७२ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ ।

उनले कानूनका सामू सबैको समान हैसियत कायम गराउने नागरिकको आकांक्षाको पक्षमा योगदान गर्न बिज्ञ सल्लाहकारबाट राजीनामा दिएको राजीनामापत्रमा उल्लेख गरेका छन् ।

संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यता र कानूनी सर्वोच्चताको अक्षरशः कार्यान्वयनका लागि शासकीय मामिलासम्बद्ध औपचारिकताको परिधीभन्दा बाहिर अझ बढी सक्रियतापूर्वक सहभागिता जनाउनुपर्ने अनुभूत गरेर राजीनामा दिएको बताएका छन् ।

तपाईको प्रतिक्रिया

Techie