रातो मछिन्द्रनाथको रथयात्रा स्थगित

काठमाडौं : ललितपुरको रातो मछिन्द्रनाथको रथयात्रा स्थगित भएको छ । सरकारले लकडाउन कायम राखेकाले यो बर्ष जात्रा नगर्ने निर्णय ज्यापु समाजले गरेको हो । आजदेखि शुरु हुने रथ निर्माणको काम स्थगित गरिएको ज्यापु समाजले बिज्ञप्तीमार्फत जानकारी दिएको हो ।

हिजो विधिपूवर्क महास्नान गराएपछि आजबाट रथ निर्माणको काम गर्नुपर्ने थियो । आजदेखि तीन दिन पुल्चोकमा रथ निर्माण गर्ने तालिका थियो । कोरोना भाइरस संक्रमणको त्रासका कारण रथको जग राख्ने र निर्माण कार्य स्थगित भएको हो ।

स्थगित भएको रथ निर्माणको काम लकडाउन सकिएलगत्तै क्षमा पूजा गरेर सुरु गरिने ज्यापु समाजले जनाएको छ । यसअघि गुठी संस्थानले पुल्चोकमा रथ निर्माण सुरु गर्ने निर्णय गरेपनि रथ निर्माण गर्ने बाराही समूहले अहिलेकै अबस्थामा रथ निर्माण गर्न नसकिने जनाएको थियो ।

स्वास्थ्य र सुरक्षाको प्रत्याभुति नभइ लकडाउनको समयमा रथ निर्माण गर्न नसकिने उनीहरुको भनाइ थियो । लिच्छवीकालदेखि निरन्तर चल्दै आएको रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ ।

तपाईको प्रतिक्रिया

Techie