रञ्जन कोइरालालाई जेलमुक्त गरिएकोमा पीडितको आपत्ति

महान्यायाधिवक्ताको कार्यालयद्धारा पुनरावलोकनको निवेदन

काठमाडौ । श्रीमतीको हत्या गरी सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका पूर्व डिआइजी रञ्जन कोइराला प्रकरणमा सर्वोच्च अदालतले सजाय घटाउने गरी गरेको फैसलाले गलत नजिर स्थापित गरेको पीडित परिवारका सदस्यले गुनासो गरेका छन् । सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका कोइराला प्रकरणमा सर्वोच्च अदालतले साढे ८ वर्ष मै पुरा हुने फैसला गरेपछि पीडित परिवारले यसबाट समाजमा राम्रो सन्देश प्रवाह नहुने बताए । पूर्व डिआइजी कोइराला बिहीबार रिहा भएपछि पीडित गीता ढकालका बुवा हरेराम ढकालले फैसलाले समाजमा राम्रो सन्देश नदिने बताए ।
श्रीमती गीता ढकालको हत्या अभियोगमा २०६८ साल माघ ८ गते पक्राउ परेका कोइरालालाई घटनाको प्रकृति, प्राप्त प्रमाण लगायत प्रहरीको अनुसन्धानलाई हेरेर जिल्ला अदालत काठमाडौंले २०७१ वैशाख ७ गते सर्वश्व सहित जन्मकैदको फैसला सुनाएको थियो । उनले उच्च अदालत पाटनमा पुनरावेदन दिएपछि २०७२ मंसिर २३ गते जिल्लाकै फैसला सदर गरेको थियो । फेरी उनी सर्वोच्च पुगेका थिए । तर, सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर कार्कीको संयुक्त इजलासले पूर्व डिआइजी कोइरालालाई तोकिएको सर्वस्वसहितको जन्मकैद फैसला उल्ट्याएर साढे ११ वर्ष कैद मिनाहा गरेपछि उनी बिहीबार छुटेका छन ।

सरकार पुनरावलोकन

हत्या आरोपी सशस्त्र प्रहरी बलका पूर्व डीआईजीको सजाय घटाइदिने सर्वोच्च अदालतको फैसला विरूद्ध सरकारले पुनरवलोकन निवेदन दर्ता गराएको छ । आफ्नी श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाइदिने सर्वोच्च अदालतको फैसलाविरूद्ध महान्यायाधिवक्ताको कार्यालयले आज सर्बोच्च अदालतमा पुनरवलोकन निवेदन दर्ता गराएको हो । त्यस्तै प्रकृतिको मुद्दामा पहिलेको व्याख्याभन्दा फैसला फरक भयो भने पुनरवलोकन निवेदन दिनसक्ने कानूनी ब्यवस्था छ । सोही ब्यवस्थालाई टेकेर महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएको हो । सर्वोच्च अदालतले जघन्य अपराधमा दोषी पाइएका कोइरालाको सर्वस्वसहित जन्मकैद सजायलाई गत असार दोस्रो साता घटाएको विषयमा आलोचना हुँदै आएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले उक्त फैसला गरेको थियो । सर्वोच्चको पछिल्लो निर्णयका आधारमा कोइराला भने आजै जेलमुक्त भैसकेका छन । कोइरालाले करिब ८ वर्षअघि आफ्नै श्रीमती गीता ढकालको हत्या गरेर लासलाई टुक्राटुक्रा पारी मकवानपुरको जङ्गलमा पु¥याएर जलाएका थिए । उनलाई जिल्ला र तत्कालीन पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

तपाईको प्रतिक्रिया

Techie