यो समयमा सिनेमा ल्याउनु मेरा दर्शकको लागि हो : शिव श्रेष्ठ (अन्तर्वार्ता)

काठमाडौं : कोरोना संक्रमणको जोखिम बढेसँगै बन्द भएका सिनेमा घरहरु भोलि माघ १ गतेदेखि खुल्दै छन् । यससँगै एक नयाँ चलचित्र पनि प्रदर्शनमा आउने भएको छ । चर्चित अभिनेता शिव श्रेष्ठले निर्माण गरेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आउन लागेको हो । चलचित्रको प्रदर्शनका बारेमा न्यूज एजेन्सी नेपालले सोधेको एक प्रश्नमा नायक एवं निर्माता श्रेष्ठले आफ्नो चलचित्रको प्रदर्शनले ठप्प भएको सिने क्षेत्र चलाएमान हुने बताए । अभिनेता एवं निर्माता श्रेष्ठसँग गरिएको कुराकानीको संपादित अंश :

तपाईंलाई धेरै धेरै शुभकामना तथा बधाइ, यो विषम परिस्थितिमा सिनेमा लिएर आउनु भयो ….?

हो समय अलि फरक नै छ । तर आश्चर्य मान्नु पर्ने त्यस्तो पनि छैन । कोभिडको समयमा सबैले आफ्नो क्षेत्रबाट काम शुरु गर्नुपर्ने आवश्यकता देखेर हामी अगाडि आएका हौं । कलाकारले कला क्षेत्रबाट अगाडि आउने बेला हो यो । सिनेमा हेर्न शुरुमा दर्शक आउँदैनन् कि भन्ने डर हाम्रो टीममा पनि थियो । तर यो सिनेमाको प्रदर्शनले धेरै क्षेत्रको ढोका खोल्छ भन्ने लाग्यो । यसरी सबै क्षेत्रलाई चलायमान बनाउने देखेर हामीले प्रदर्शन गर्ने हिम्मत गरेका हौं ।

भिडियोमा हेर्नुहोस् अन्तर्वार्ता :

कोरोनाको जोखिम बढेको बेला नयाँ कलाकारको सिनेमा, लगानी जोखिममा परेन र …?

जोखिम त छ । तर हामी मनोरञ्जनको क्षेत्रबाट यहाँसम्म आएका हौं । म आफैं विगत ४० वर्षदेखि काम गर्दै आइरहेको छु । जोखिम भन्दा पनि कर्तव्य सम्झेर पनि आएको हुँ ।

अलिकति सिनेमाको कुरा गरौं, कस्तो छ कथाबस्तु, नयाँ कलाकारलाई ल्याउनु भएको छ…..?

‘एउटा यस्तो प्रेम कहानी’को कथाबस्तु उत्कृष्ट छ । मेरो छोरा शक्ति श्रेष्ठ र करिष्मा मानन्धरको छोरी कविता मानन्धरले अभिनय गर्नुभएको छ । हामी कलाक्षेत्रका ब्यक्तिहरुले आफ्ना छोराछोरीलाई दर्शक सामु ल्याएका छौं । यसमा पुराना र स्थापित कलाकारहरुले पनि अभिनय गर्नुभएको छ । सिनेमा कमर्सियल विधामा बनेको छ । खासमा गजब बनेको छ ।

फेरि पनि भर्खर हल खुल्दै छ, नयाँ सिनेमा हलमा लगाउन हतार भएन र …?

यो समयमा सिनेमा ल्याउनु मेरा दर्शकको लागि हो । मलाई ४० वर्षदेखि दिएका माया र विश्वासलाई कर्तव्य सम्झेर पनि यो समयमा सिनेमा लिएर आएको हुँ । मलाई बनाएको दर्शकले हो, मैले दर्शकलाई मनोरञ्जन दिनुपर्छ । मेरो फिल्म हेर्न दर्शक हलसम्म आउनुहुन्छ । कोरोनाको कारण घर भित्र उकुस मुकुस भएर बस्नु भएका दर्शकलाई नयाँ ताजा सिनेमा दिएको छु ।

अन्तिममा,यो सिनेमाको प्रदर्शन सँगै सिने क्षेत्रमा कस्तो प्रभाव पर्छ के भन्नुहुन्छ ?

यो सिनेमाको प्रदर्शनसँगै बन्द भएका, रोकिएर रहेका कामहरु सुचारु गर्न बाटो खोल्छ । अब केहि गर्नुपर्छ चुप लागेर बस्नु हुन्न भन्ने सन्देश प्रवाह गर्छ । साथै सिने क्षेत्रका प्राविधिक कलाकारहरुले काम पाउले वातावरण बन्छ । हामीले प्राविधिक कलाकारहरुलाई काम पनि दिनु छ । मैले पनि सिनेमाको प्रदर्शनपछि संकलन हुने केही रकम प्राविधिकहरुलाई सहयोग गर्नेछु । यस्तै अहिलेको अवस्था सृजना गर्न नेपाल सरकारले गरेको सहयोगलाई धन्यवाद दिन्छु ।

तपाईको प्रतिक्रिया

Techie