यो वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकी अर्थशास्त्रीलाई

एजेन्सी । यसवर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका दुई अर्थशास्त्रीले प्राप्त गरेका छन । अर्थशास्त्री पल आर. मिलग्रोम र रोवर्ट बी. विलसनले यसवर्षको नोबेल पुरस्कार प्राप्त गरेका हुन् । लिलामी सिद्धान्तमा सुधार र नयाँ लिलामी ढाँचा निर्माण गरेकोमा यी दुई अर्थशास्त्रीलाई पुरस्कार प्रदान गरिएको रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले जनाएको छ । परम्परागत ढाँचामा लिलामीमा बस्तु तथा सेवाको बिक्री भइरहेको अवस्थामा मिलग्रोम र विल्सनको नयाँ सिद्धान्तले विश्वभरका बिक्रेता, क्रेता र करदातालाई सहज हुने एकेडेमीले बताएको छ । रोबर्ट विल्सनले एउटा साझा मूल्यका आधारमा बस्तुको लिलामीका लागि नयाँ सिद्धान्तको विकास गरेको एकेडेमीले उल्लेख गरेको छ । जहाँ बस्तुको मूल्य पहिले अनिश्चित हुन्छ तर अन्त्यमा सबैका लागि समान हुन्छ । त्यस्तै पल मिलग्रोमले लिलामीबारे अझ सामान्य सिद्धान्तको विकास गरेको एकेडेमीले बताएको छ । एकेडेमीका अनुसार मिलग्रोमको सिद्धान्तअनुसार बोलकबोलमा साझा मूल्यलाई अनुमति दिइन्छ । यो सिद्धान्तअनुसार निजी मूल्य पनि बोलकबोल गर्ने व्यक्ति अनुसार फरक फरक हुनेछ । दुवै जना अमेरिकास्थित स्टानफोर्ड विश्वविद्यालयका प्राध्यापक हुन् । विजेताले स्वर्ण पदक र एक करोड स्विडिस क्रोनर पाउनेछन् । नोबेल पुरस्कार सन् १९०१ देखि दिइन थालेको भए पनि अर्थशास्त्रतर्फको पुरस्कार भने सन् १९६९ बाट दिइन थालेको हो ।

तपाईको प्रतिक्रिया

Techie