यस्तो छ परराष्ट्रमन्त्रीको भारत भ्रमणको कार्यतालिका

काठमाडौ । भारतले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली नयाँ दिल्ली ओर्लनु केही घण्टाअघि मात्र उनको भारत भ्रमणका सम्बन्धमा औपचारिक जानकारी दिएको छ । भारतको विदेश मन्त्रालयले बिहीबार बिहान विज्ञप्ति जारी गर्दै मन्त्री ज्ञवालीको भ्रमण तालिका सार्वजनिक गरेको हो । नेपालले यसअघि नै भ्रमणका बारेमा औपचारिक रुपमै बताइसके पनि भारतले भने केही बोलेको थिएन । विदेश मन्त्रालयद्धारा सार्वजनिक भ्रमण तालिकाका अनुसार ज्ञवाली मध्यान्ह १२ बजेर २० मिनेटमा नयाँदिल्ली ओर्लने छन् । जारी विज्ञप्तिअनुसार बिहीबार अरु कुनै औपचारिक कार्यक्रम रहेको छैन । दिल्लीस्थित नेपाली दूतावास स्रोतका अनुसार पहिलो दिन ज्ञवालीले दिल्लीमा रहेका प्रवासी नेपाली संगठनका प्रतिनिधिलाई भेट्ने कार्यक्रम छ । शुक्रबार भने ज्ञवाली बिहानदेखि नै व्यस्त रहनेछन् । भारतीय विदेश मन्त्रालयका अनुसार शुक्रबार बिहान एघार बजे ज्ञवालीले आफ्ना समकक्षी एस जयशंकरसँग हैदरावाद हाउसमा भेट गर्नेछन् । त्यसपछि सोही भवनमा साढे एघार बजे नेपाल–भारत संयुक्त अयोगको छैटौं बैठक सुरु हुनेछ । आयोग नेपाल–भारत दुई पक्षीय संयन्त्रहरुमध्ये सबैभन्दा माथिल्लो हो । बैठकमा दुई दर्जनभन्दा द्विपक्षीय संयन्त्रहरुमा हालसम्म भएका छलफल र सहमतिको समीक्षा हुनेछ । स्रोतका अनुसार बैठकमा नेपालले सीमा, ईपीजी, व्यापार, ऊर्जा, कनेक्टिभिटिलगायतका विषयलाई प्राथमिकता दिने बताइएको छ । विदेश मन्त्रालयले ज्ञवाली दिल्लीमा रहँदा हुने उच्च राजनीतिक भेटघाटका बारेमा भने केही खुलाएको छैन । तर ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द मोदीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ताको कार्यक्रम तय भएको बताइएको छ । मन्त्री ज्ञवाली शनिबार अपरान्ह दुई बजे स्वदेश फर्कने विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया

Techie