मेडिकल माफियाविरूद्द माइतीघरमा प्रदर्शन, डा. केसी भन्छन् माफियालाइ सम्बन्धन दिन प्रधानमन्त्रीले बाध्य पार्न खोजे

काठमाडौ । विवेकशील साझा पार्टीका समर्थक लगायतले मेडिकल माफियाविरूद्द माइतीघरमा प्रदर्शन गरेका छन् । दुर्गा प्रसाईं सञ्चालक रहेको झापाको बी एण्ड सी मेडिकल कलेजलाई गलत ढंगले सम्बन्धन दिने तयारीको विरोधमा प्रदर्शन भएको हो । प्रदर्शनकारीहरूले चिकित्सा शिक्षा माथिको हस्तक्षेप बन्द गर, ओलीको मिसन, सिटामोलमा कमिसन लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए ।

यसैबिच चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीले चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूको अडान विपरीत सम्बन्धनको प्रक्रिया अघि बढाइए सत्याग्रह गर्ने चेतावनी दिएका छन्। प्रधानमन्त्री ओलीले जबर्जस्ती बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गराउन खोजेको भन्दै उनले विरोध जनाएका छन् । ओलीले शुक्रबार जेठ २८ गते चिकित्सा शिक्षा आयोगको जबर्जस्ती बैठक राखेर बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन खोजेको उनले बताएका छन् ।

बिहीबार विज्ञप्ति जारी गरी उनले सम्बन्धनसम्बन्धी निर्णय गर्न आयोगका सदस्यहरुलाई बाध्य पार्न खोजेको भन्दै यो विधिको शासनविरुद्ध अक्ष्यम्य अपराध हुने बताएका छन् ।
केसीले चिकित्सा शिक्षाको मर्यादा र संवेदनशीलता बुझेर त्यस खालको निर्णय प्रक्रियामा संलग्न नहुन तथा त्यसलाई रोक्न चिकित्सा शिक्षा आयोगका सदस्यहरुलाई आग्रह गरेका छन् । ‘त्यसो नगरी ओलीको गुण्डाराजलाई साथ दिने जो कसैलाई पनि जवाफदेही बनाउन हामीले कुनै कसर बाँकी राख्ने छैनौं,’ उनले भनेका छन् ।

केसीले आफू हाल द्वन्द्वग्रस्त मुलुक यमनका पिछडिएका ठाउँहरुमा सेवा दिएर नेपाल फर्कने तयारीमा रहेको भन्दै सम्बन्धन दिएमा अनसन बस्ने चेतावनी दिएका छन् ।

‘चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुको अडान विपरीत जबर्जस्ती अवैध सम्बन्धनको प्रक्रिया अघि बढाइयो भने म नेपाल फर्कनासाथ त्यस्तो हर्कतविरुद्ध सत्याग्रह सुरु गर्ने जानकारी गराउन चाहन्छु,’ उनले विज्ञप्तिमा भनेका छन् ।

प्रधानमन्त्री ओलीले आफू र आफ्ना आसेपासेको लगानीबाट स्थापित निजी संस्थाहरूको दूषित स्वार्थपूर्तिका खातिर कानुन बनाउने, राज्य कब्जा गर्ने र राज्यका संस्थाको चरम दुरुपयोग गर्ने कार्य गर्दै आएको दाबी विज्ञप्तिमा गरिएको छ।

तपाईको प्रतिक्रिया

Techie