माधव नेपाल समूह नयाँ दल दर्ताको अन्तिम तयारीमा

काठमाडौ । एमालेको असन्तुष्ट पक्ष माधव नेपाल समूह नयाँ दल दर्ताको अन्तिम तयारीमा जुटेको छ । सरकारले दल विभाजनसम्बन्धी प्रावधान खुकुलो हुने गरी अध्यादेश जारी गरेसँगै एमालेको माधव नेपाल समूह नयाँ दल दर्ताको अन्तिम तयारीमा जुटेको हो । मंगलबार सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सरकारले सिफारिस गरेको अध्यादेश मंगलबारै राष्ट्रपतिले स्वीकृत गरेको भए सोही दिन एमाले नेताहरू निर्वाचन आयोगमा दल दर्ता गर्न जाने तयारीमा थिए । तर, मंगलबार ५ बजेसम्म राष्ट्रपतिले अध्यादेश स्वीकृत नगरेपछि माधव पक्षको तयारी केही दिन पर सरेको छ । सो समूहका एक नेताका अनुसार नयाँ पार्टी गठनका लागि बेदुराम भुसाल, डा. विजय पौडेल तथा अधिवक्ता गोविन्द बन्दीको सहयोगमा विधान र साङ्गठानिक संरचनालाई समेत अन्तिम स्वरूप दिइएको छ । त्यसका लागि माधव नेपाल पक्षका नेताहरू मंगलबार दिनभर सिंहदरबार र बानेश्वरमा भेला भएर बसेका थिए । यता मंगलबार नै अध्यक्ष ओलीले नेता नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको पत्र संसद् सचिवालयमा पुगेपछि त यो समूह थप आक्रोशित बन्न पुगेको थियो । माधव समूहले आफ्नो पार्टीको नामको अगाडि नेकपा र कोष्ठमा (समाजवादी), (क्रान्तिकारी) या अन्य केही राख्ने तयारी गरेको छ । साथै चुनाव चिन्ह कलम प्रस्ताव गर्ने तयारी भएको नेताहरूको भनाइ छ । त्यस्तै नयाँ पार्टीको सांगठनिक संरचनामा तत्काल अध्यक्ष र महासचिवसहित केन्द्रीय सदस्य राख्ने सहमति पनि भैसकेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

Techie