माग सम्बोधन नभए आन्दोलनमा उत्रिने होटल व्यवसायी महासंघको चेतावनी

काठमाडौं : होटल व्यवसायी महासंघले सरकार समक्ष चौध बुँदे माग राख्दै तत्काल सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै साना होटल व्यवसायीको छाता संगठनले कोरोना भाइरस संक्रमणमा परेका होटल क्षेत्रका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

होटल व्यवसायीहरुले घरभाडामा पचास प्रतिशत छुटको व्यवस्था गर्न र भाडा छुट दिने घरधनिको बैंक ऋणको ब्याजमा सहुलियत दिन माग गरेका हुन् ।

यस्तै लकडाउन खुलेपछि पनि तत्काल होटल सञ्चालन नहुने भएकाले बिजुली पानीको महशुलमा एक वर्ष सम्म छुट दिनुपर्ने, टेलिफोन, इन्टरनेटमा विशेष सहुलियत दिनुपर्ने, एकवर्षको व्यवसाय कर तथा राजश्वमा छुट गर्नुपर्ने उनीहरुको माग छ ।

बैंकको ऋण र ब्याज भुक्तानी गर्ने अवधि दुई वर्ष थप्नुपर्ने, सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने, होटलहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गराउन र सुरक्षा सावधानी अपनाएर होटल खोल्ने व्यवस्था गर्न होटल व्यवसायीहरुले माग गरेका छन् ।

कोरोना भाइरसका कारण सबै होटल बन्द भएको तर सरकारले साना होटलहरुलाई बेवास्ता गरेको पनि महासंघले जनाएको छ । साना होटलहरुले विदेशबाट आउने नागरिकलाई १४ दिन सम्म क्वारेन्टाइनमा राख्न बिना शुल्क होटल दिन तयार रहँदासमेत तारे होटलमा महँगो शुल्क तिर्न बाध्य पारिएको व्यवसायीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

Techie