महिला फुटबल टिमका लागि तीन जना सहायक प्रशिक्षक नियुक्त

अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले राष्ट्रिय महिला फुटबल टिमका लागि तीन जना सहायक प्रशिक्षक नियुक्त गरेको छ । एन्फाले चेतन घिमिरे, भगवती राना मगर र अरुणा गुरुङलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । टिमको मुख्य प्रशिक्षकमा भने ग्यारी फिलिप्स रहेका छन् । एन्फाले तीनै जनालाई एएफसी महिला एसियन कप छनोट सम्मका लागि सहायक प्रशिक्षकको जिम्मेवारी दिएको हो । गोलकिपर प्रशिक्षकको जिम्मेवारी श्री प्रकास बैद्यलाई दिईएको छ । एएफसी महिला एसियन छनोटका लागि महिला टिमले सोमबारबाट प्रारम्भिक बन्द प्रशिक्षण सुरु गरेको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन् । छनोटमा नेपाल समूह ’एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ । यस समूहको छनोट खेल भदौ २८ देखि असोज ९सम्म नेपालमा हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।

तपाईको प्रतिक्रिया

Techie