महासंघको साधारण सभा स्थगित गरिएकोप्रति चन्द्र ढकाल समूहको असन्तुष्टि

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा स्थगित गरिएकोप्रति वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकाल समूहले असन्तुष्टि जनाएको छ । आगामी २६ र २७ गतेका लागि तोकिएको साधारण सभा स्थगित गरिएपछि आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर ढकाल समूहले असन्तुष्टि प्रकट गरेको हो । ढकालले चैतमा हुनुपर्ने साधारणसभा पुरानो नेतृत्व आफ्नो जिम्मेवारीबाट पन्छिने र नयाँ नेतृत्वले जिम्मेवारी लिन नचाहने स्थितिका कारण हुन नसकेको बताए ।
पत्रकार सम्मेलनमा महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले अधिवेशन स्थगित गर्दा एकातर्फ महासंघ बेवारिसे हुन गयो भने अर्कोतर्फ यसमा आवद्ध लाखौं उद्योगी, व्यापारी तथा व्यावसायीले अफ्ठ्यारो परिस्थितिमा आफ्नो अभिभावक विहिन जस्तो महशुस गर्न पुगेको बताए ।
नेपाल उद्योग बाणिज्य महासंघका पूर्व बरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार दुई महिनाभित्र महासंघको अधिवेशन नहुँदा कानूनी अडचन आएको बताए । साढे पाँच दशक पुरानो संस्था कानुनी रुपमा इतिहासमै कमजोर बनेको राजकर्णिकारको टिप्पणी छ ।
ढकालको प्यानलबाट बस्तुगत उपाध्यक्षतर्फ उम्मेदबारी घोषणा गरेका उमेशलाल श्रेष्ठले महासंघको विधान विपरित र उद्योगी ब्यवसायीको अपेक्षा विपरित साधारण सभा स्थगित गरिएको बताए ।
एसोसिएट उपाध्यक्षका उम्मेदबार रामचन्द्र संघाई र जिल्ला नगर उपाध्यक्षतर्फ गुणनिधि तिवारीले साधारणसभा स्थगित गरेर अर्को मिति तय समेत नगरिँदा यसले कानुनीमात्र नभइ हाम्रो नैतिक र सामाजिक जगसमेत कमजोर बनाएको बताए ।
यसअघि अवस्था सहज नभएकै कारण चुनाव सारिएको भएपनि अहिले लकडाउन पूर्ण रुपमा हटेको, सार्वजनिक यातायात सञ्चालनमा आइसकेको अवस्थामा चुनाव सार्नु गलत भएको ढकाल समूहको भनाइ छ । महासंघको निर्वाचन तेस्रो पटक सरेको हो । महासंघको साधारणसभा गत चैत अन्तिम साता नै हुनुपर्ने थियो । तर कोडिभ–१९ का कारण सरकारले देशभर लकडाउन घोषणा गरेपछि उद्योग बाणिज्य महासंघले चुनाव जेठ दोस्रो साता गर्ने निर्णय ग¥यो । जेठमा पनि लकडाउन नखुलेपछि साउन २६ र २७ गतेका लागि महासंघको साधारणसभा तोकिएको थियो ।

तपाईको प्रतिक्रिया

Techie