मन्त्रिपरिषद् बैठक आज बस्दै, लकडाउनको मोडालिटी परिवर्तनबारे छलफल हुने

काठमाडौं : मन्त्रिपरिषद्को नियमित बैठक आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । नियमित बैठक भएपछि आजको बैठकमा ७३ दिनदेखि जारी लकडाउनको मोडालिटी परिवर्तनका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा जनस्वास्थ्य संकटकाल लगायतका विषयमा आवश्यक निर्णय हुन सक्ने अनुमान गरिएको छ । लकडाउनले गुजारा चलाउन नै मुस्किल भएको भन्दै व्यापारीहरुले धमाधम व्यवसाय सञ्चालन गर्न थालेपछि सरकार दवाबमा परेको छ ।

उच्चस्तरीय राजनीतिक समितिले पनि लकडाउनको स्वरुप परिवर्तन गर्ने विषयमा केही दिनदेखि विभिन्न क्षेत्रका विज्ञसँग परामर्श गरिरहेको छ । समितिको सुझाव अनुसार आजको मन्त्रीपरिषदले ठोस निर्णय गर्ने अनुमान गरिएको छ ।

अघिल्लो मन्त्रीपरिषद बैठकले उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटीबारे अध्ययन गर्न उच्चस्तरीय समितिलाई निर्देशन दिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत हिजो विभिन्न क्षेत्रका २५ जना विज्ञसँग परामर्श गरेका थिए । सरकारले चैत ११ गतेदेखि जारी लकडाउन जेठ ३२ गतेसम्म कायम गरेको छ ।

तपाईको प्रतिक्रिया

Techie