मकवानपुरमा जन्ती बस दुर्घटना, ४ जनाको मृत्यु, ४८ घाइते

काठमाडौं : जन्तीसहित बेहुला बेहुली लिएर फर्किएको बस मकवानपुरगढीमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मकवानपुरगढीको जीतपुरभञ्जाङबाट सुकौरातर्फ जाँदै गरेको ना ३ ख ३५५६ नम्बरको बस हिजो साँझ गौरीभञ्जाङको भीरबाट खस्दा तीन जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा ४८ जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा मकवानपुरगढी गाउँपालिका ७ बस्ने ३२ वर्षीय सोमबहादुर रुम्बा, सोही ठाउँका सोमबहादुर मोक्तान, २४ वर्षीय सुरज लो र नाम नखुलेका एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सुरज लोको चितवनको भरपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । करिब एक दर्जन व्यक्ति गम्भीर घाइते भएका छन । बेहुला बेहुली भने सामान्य घाइते भएका छन् ।

बुधबार दिउँसोको विवाह सकेर बेहुली लिएर घरतर्फ फर्किने क्रममा गाडीको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडी भीरबाट करिब ५० फिट तल खसेको थियो ।

तपाईको प्रतिक्रिया

Techie