मंगलबार सार्वजनिक भएका मन्त्रिपरिषदको निर्णयहरु

काठमाडौ । मंगलबार मन्त्रिपरिषदले गरेका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थमन्त्रीसमेत रहेका सञ्चारमन्त्री डाक्टर युवराज खतिवडाले भारतबाट नेपाल आउनै पर्ने नेपालीको लागि १० वटा सीमा नाकामात्रै खुला गरेको जानकारी दिए। यसअघि जेठ १२ गतेको मन्त्रिपरिषद्का बैठकले २० वटा सीमा नाकाबाट प्रवेश अनुमति दिएकोमा अहिले घटाएर १० वटा सीमा नाका कायम गरिएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार झापाको काँडडभिट्टा, मोरङको रानी , सिरहाको मार्डर नाका , रौतहटको गौर नाका, पर्साको वीरगन्ज, रुपन्दहीको बेहलिया, कपिलवस्तुको कृष्णनर, बाँके जमुनाहा, कैलालीको गौरिफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट मात्रै नेपाल प्रवेश गर्न दिइने निर्णय भएको छ ।

कोरोना जोखिम रहेकोले अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द नै रहने सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।
मन्त्रिपरिषदले गरेको निर्णय मंगलबार सार्वजनिक गर्दै खतिवडाले भने, ‘शैक्षिक संस्था, सेमिनार, पार्टी प्यालेस, सैलुन, पुस्तकालय अर्को सूचना नभएसम्म बन्द रहने निर्णय भएको छ।’

उनले काठमाडौं उपत्यका र २०० भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा जनतासँग प्रत्यक्ष जोडिएर दिने सेवा प्रवाहका काम सकेसम्म घरबाटै गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्।‘सरकारी तथा गैरसकारी संस्थामा ५० प्रतिशत कर्मचारीमात्रै कार्यालयमा आउने र बाँकीले घरबाटै काम गर्ने व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउने,’ उनले भने। बढी जनसम्पर्क हुने कार्यालयका सेवा अनलाइनबाट सम्भव नदेखिए अर्को निर्णय नभएसम्म बन्द गर्न उनले आग्रह गरेका छन्।

सरकारले होटल तथा रेष्टुरेन्टमा बसेर खान नपाइने नियम पुन:  लागू गरेको छ। साउन १५ देखि रेष्टुरेन्टमा बसेर खान पनि पाइने नियम लागू भएकोमा र कोरोना महामारी बढेकोले फेरि टेक अवेमात्रै गर्न मिल्ने बनाइएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।

‘होटल रेष्टुरा खोल्ने भनिएको थियो। अब होटल र रेष्टुराबाट तयार गरेको खाद्य परिकार लैजाने सेवा टेक अवेमात्र दिने निर्णय भएको छ,’ मंगलबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै उनले भने, ‘स्वास्थ्य सुरक्षाका उपाय अपनाएर परिचालित हौऔं भन्दा मास्क नलगाउने र भीडभाड बढेपछि टेक अवेमात्रै सञ्चालन गर्न दिइएको हो।’

नेपाल प्रवेश गर्ने सबै अन्तर्राष्ट्रि प्रवेश बिन्दु तथा सीमानाका आगामी भदौ ३१ गतेसम्मका लागि बन्द गरिएको छ । यसअघि सरकारले साउन ३१ सम्म यो कायम हुनेगरी निर्णय गरेकोमा अहिले फेरि समय बढाएर भदौ ३१ सम्म पुर्याइएको हो ।
स्वदेश आउनै पर्ने नेपालीको लागि भने तोकिएको प्रवेश बिन्दुबाट प्रवेश दिने र दुवानी पनि कायमै रहने छ।

सरकारले पश्चिम रुकुम चौरजहारीको सोती घटनामा हत्या भएकाहरुका परिवारलाई सरकारले १० / १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने जानकारी दिए । मन्त्रिपरिषद्का बैठकले मृतकका परिवारलाई आर्थिक सहायता र घाइतेहरुको उपचार गर्ने निर्णय भएको खतिवडाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Techie