भारत विश्वकै तेस्रो धेरै कोरोना संक्रमित भएको मुलुक बन्यो

तिब्र गतिमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि अब भारत विश्वकै तेस्रो धेरै संक्रमित भएको मुलुक बनेको छ । भारतमा गत तीन दिनमा कीर्तिमानस्तरमा संक्रमित थपिएका छन । अहिलेसम्म संक्रमितको संख्या अमेरिकामा र त्यसपछि ब्राजिलमा पाइएको छ । भारतमा हालसम्म ७ लाख ७ सय २४ जनामा संक्रमण पुष्टि भएको छ । भारतमा १ जुनदेखि लकडाउनलाई खुकुलो पारिएसँगै संक्रमणमा तीव्र वृद्धि भइरहेको छ । भारतमा पछिल्लो एक दिनमा मात्र करिब पच्चीस हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । भारतका ३६ वटा राज्य तथा केन्द्र शासित प्रदेशहरुमध्ये संक्रमितको संख्या सबैभन्दा उच्च रहनमो महाराष्ट्र, तमिलनाडु र दिल्ली छन् । संक्रमण बढ्ने क्रमसँगै मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । दक्षिणी तमिलनाडुमा तथा दिल्लीमा सङ्क्रमितको संख्या एक लाख हाराहारीमा छ । उत्तर प्रदेशमा २६ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । भारतमा हालसम्म १९ हजार ७ सय १४ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । संक्रमितहरुमध्ये ४ लाखभन्दा बढी उपचारपछि निको समेत भइसकेका छन् । यसैविच भारतमा कोरोना भाइरसबाट संक्रमितको हेरचाह गर्न १० हजार शैय्याको अस्पताल अर्थात् स्याहार गृह स्थापना गरिएको छ । राजधानी दिल्लीमा रहेको स्याहार गृहमा कोरोना पोजिटिभ भएका सामान्य लक्षणका बिरामीलाई पनि उपचार गरिने बताइएको छ । अस्पतालको क्षेत्रफल २० वटा फुटबल मैदान बराबर भएको बताइएको छ । भाइरस संक्रमण फैलँदै गर्दा भारतको एक प्रमुख पर्यटन आकर्षण ताज महल आगन्तुकका निम्ति सोमबारदेखि खुला गर्ने योजना स्थगित गरिएको छ ।

तपाईको प्रतिक्रिया

Techie