भारतले हटाउन खोजेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति पार्टीका शीर्ष नेताहरुको आपत्ति

  प्रमाण पेस गर्न ओलीलाई चुनौति

काठमाडौ । भारतले आफूलाई हटाउन खोजेको प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिप्रति नेकपाका शीर्ष नेताहरुले जवाफ मागेका छन् । नेकपाको जारी स्थायी समितिको बैठकमा नेताहरुले भारतले हटाउन खोजेको प्रमाण दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन् । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम लगायतका नेताले प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति आपत्ति पनि जनाएका छन् । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले गत आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा आफू निकटका कार्यकर्तालाई डाकेर आफूलाई भारतले हटाउन खोजेको अभिव्यक्ति दिएका थिए । साथै उनले त्यसमा आफ्नै पार्टीभित्रका नेताहरु पनि सक्रिय रहेको आशय व्यक्त गरेका थिए । ओलीको यो अभिव्यक्तिको सर्वक्र आलोचना भइरहेको छ । नेकपा स्थायी समितिको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आहिले पनि जारी छ । यसैबीच, नेकपाको स्थायी समिति बैठकमा कुर्सी सम्बन्धी विवाद समाधान भएको छ । आजको स्थायी कमिटी बैठकमा शीर्ष नेताहरुलाई पनि अन्य सदस्यहरुसँगै भूइँमा राखेपछि कुर्सी सम्बन्धी विवाद समाधान भएको हो । बैठकमा दुई अध्यक्षसहित वरिष्ठ २ नेता र उपाध्यक्ष एउटै लाइनमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

Techie