‘बेलायतले कोरोना महामारीको उच्च तह पार गर्‍यो’

एजेन्सी : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो मुलुकले कोरोना भाइरस महामारीको उच्च तह पार गरेको बताएका छन् । अब सूर्यका किरण देख्न वा त्यसलाई महसुस गर्न पाउने दिन आएको भन्दै उनले सावधानी भने अपनाइरहनुपर्ने बताए ।

प्रधानमन्त्री जोनसनले पुनः महामारीले भयानक रुप लिन सक्ने भएकाले अहिले नै जोखिम लिन नहुने पनि बताए । उनले महामारी फैलिन नदिनका लागि लागु गरिएको लकडाउन कसरी खोल्दै जाने भन्नेबारेमा आगामी हप्ता विस्तृत योजना सार्वजनिक गर्ने पनि घोषणा गरेका छन् ।

बन्द रहेका व्यवसाय, विद्यालय खोल्नेदेखि काममा कार्यालय पुग्ने विधि समेत त्यसमा समेटिने बताइएको छ । उनले सार्वजनिक स्थानमा जाँदा मास्क अनिवार्य गर्ने संकेत गरेका छन् ।

बेलायतमा बिहीबार बेलुका कोरोना भाइरस विरुद्धको युद्धमा अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, अत्यावश्यक सेवा प्रदायकसहितको सम्मानका लागि ताली बजाइएको थियो । त्यसमा प्रधानमन्त्री जोनसन पनि सहभागी भएका थिए ।

बेलायतमा अहिलेसम्म कोरोनाबाट २६ हजार ७ सय ७१ जनाको मृत्यु भएको छ । १ लाख ७१ हजार भन्दा बढी संक्रमित भेटिएका छन ।

तपाईको प्रतिक्रिया

Techie