बिहारसँग पारस्परिक मौसमी विद्युत आदान–प्रदानको प्रस्ताव

नेपाल विद्युत प्राधिकरणले भारतको बिहार राज्यसँग पारस्परिक मौसमी विद्युत आदान–प्रदानको प्रस्ताव गरेको छ । विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको प्राधिकरणको टोलीले बिहार स्टेट पावर होल्डिङका अध्यक्ष तथा प्रबन्ध–निर्देशक सन्जीव हान्सलाई भारतको पटनामा भेटी विद्युत आदान–प्रदानका विषयमा प्रस्ताव राखेको हो । बर्खामा नेपालमा खपत भई जगेडा रहेको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत आयातका लागि प्राधिकरणले प्रस्ताव गरेको हो । प्राधिकरणको प्रस्तावमा भारतीय पक्षले सकारात्मक जवाफ दिएको प्राधिकरणको भनाइ छ । प्राधिकरणले ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी र अन्य निजी क्षेत्रका जलविद्युत आयोजनाहरुबाट वर्खामा उत्पादित विद्युत देशभित्र खपत गर्न नसकी खेर जाने अवस्था आएपछि बिहार स्टेट पावर होल्डिङ कम्पनीसँग मौसमी विद्युत आदान–प्रदानको प्रस्ताव गरेको हो । बर्खाका छ महिना नेपालबाट विद्युत बिहार पठाउने र हिउँदका छ महिना उताबाट ल्याउने गरी पारस्परिक विद्युत आदान–प्रदानको प्रस्ताव प्राधिकरणले गरेको हो । उताबाट ल्याउने र यताबाट पठाएको र हिउँदमा उताबाट ल्याएको परिमाणबीच फरक परेमा उपयुक्त विधिमार्फत विद्युतको मूल्य तय गरिने प्रस्ताव समेत प्राधिकरणको छ । प्राधिकरणका अनुसार यस वर्षको बाँकी ३ महिनामा नेपालमा खपत गरेर बढी हुने करिव ७० करोड युनिट र अर्को वर्ष ३ अर्ब ७९ करोड युनिट ऊर्जा बिहारलाई दिन सकिने छ । नेपाल र भारतबीच सन् १९७१ देखि विद्युत् आदान–प्रदान हुँदै आएको छ ।अहिले बिहारसँग जोडिएका ३३ र १ सय ३२ केभीका प्रसारण लाइन पूर्वाधारबाट ३ सय ७१ मेगावाटसम्म विद्युत आदान–प्रदान गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया

Techie