कैलाली। प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान भएका छन्। हत्या अभियोगमा पक्राउ परेका ८ जनालाई जिल्ला अदालत कैलालीमा थुनछेक बहसपछि पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
तर धनगढीमा प्रहरी हत्याकाण्डसँग जोडिएको मटर तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यापारी राजीव गुप्ता भने १ लाख ५० हजार रुपैयाँ धरौटी मा छुटेका छन्।
प्रहरी हत्यामा संलग्न धनगढी-१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना , सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीयय चोर भनिने सुरेश रानालाई प्रहरीले पक्राउ गरेको थियो ।
घटनामा संलग्न २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने रामगोपाल रानालाई पनि पक्राउ गरेको थियो ।
पक्राउ परेको सबैलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।
गत कात्तिक १ गते कैलालीको धनगढीमा नियमित गस्तीमा गएका बेला इन्चार्जसमेत रहेका प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउद बेपत्ता भएका थिए।
कात्तिक २ गते विकको र दुई दिनपछि साउदको हत्या गरेकै अवस्थामा शव फेला परेको थियो ।