नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भारतको नयाँ दिल्ली पुगेका छन् । मन्त्री ज्ञवाली बिहीबार दिल्ली पुगेका हुन् । तीन दिने भ्रमणका क्रममा मन्त्री ज्ञवालीले उच्चपदस्थ भारतीय अधिकारीरूसँग पनि छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छरु। संयुक्त आयोगको बैठकमा सीमा, व्यापार, पारवहन लगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, कोभिडविरुद्धको खोपमा नेपाल–भारत सहकार्यको मोडालिटीबारे पनि छलफल हुनेछ रु। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेपालबाट भारत भ्रमणमा जान लागेका मन्त्री ज्ञवाली सबैभन्दा उच्चपदस्थ अधिकारी हुन् । परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी ओलीका तर्फबाट भारतीय समकक्षी नरेन्द्र मोदीलाई सन्देश सुनाउने पनि बताइएको छ । बैठकमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मी अर्याल लगायत सहभागी हुने तय भएको छ । मन्त्री ज्ञवाली माघ ३ गते स्वदेश फर्कने कार्यक्रम छ ।