काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले भारतको ईशारामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् ।
प्रगतिशील पत्रकार संघ अर्घाखाँचीले अर्घाखाँचीको सन्धिखर्कमा शुक्रबार गरेको पत्रकार सम्मेलनमा उनले दरवारिया र संकीर्ण कम्युनिष्टका कारण नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त भएको गणतन्त्र खतरामा परेको बताएका हुन् ।
अमेरिकाले भनेको एमसीसी पारित नहुँदा र भारतले हडपेको लिम्पियाधुरा र कालापानी लगायतको भुःभाग समेटेर नक्सा पारित गरेपछि उनीहरुकै ईशारामा ओलीले प्रतिनिधिसभा विघटन गरेको उनले आरोप लगाए ।
प्रतिनिधिसा विघटन भएपछि दरवारियाहरु र विदेशीको चलखेल शुरु भएको अध्यक्ष केसीको आरोप छ । प्रधानमन्त्री ओलीले विघटन गरेको प्रतिनिधिसभा पुनर्स्थापना नभए देशमा संकटकाल लाग्ने बताएका छन् ।
प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा सबै दलहरु एक भएर आन्दोलन गर्नुपर्ने उनको भनाइ छ । अध्यक्ष केसीले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीका कारण देश संकटमा फसेको बताए ।
राष्ट्रपति संविधानको रक्षक पनि भएकाले प्रधानमन्त्रीले गरेको सिफारिश विचार गरेर मात्र कार्यन्वयन गर्नुपर्ने उनले बताए ।
कम्युनिष्ट पार्टीमा दुई वटा अध्यक्ष हुनै नसक्ने बताउँदै उनले नेकपाको ओली समुह तथा दाहाल-नेपाल दुबै समूह सच्चा कम्युनिष्ट नभएको बताए । ओली हिटलरी शैलीमा अगाडि बढेको र उनको पतन भएरै जाने केसीको आरोप छ ।