प्रतिष्ठाको लागी आफ्नै छोरीको हत्या गर्ने बाबु पक्राउ

रौतहट । विशेष गरी कट्टरपन्थी समुदायमा देखिने गरेको ‘अनर किलिङ्ग’ अर्थात प्रतिष्ठाको लागी आफ्नै छोराछोरीको हत्याको घटना रौतहटमा भएको छ । रौतहटको माधवनारायण नगरपालिकामा आफ्नै बुवाआमाले १७ बर्षिया विवाहिता छोरीको हत्याका लागि लाखौं रुपैया खर्च गरेको रहस्य खुलेको छ ।
माधवनारायण नगरपालिका ७ लौकाहाकी अमृताको कर्तिक २६ गते कञ्चटमा गोली हानी हत्या भएको थियो । हत्याको अनुसन्धानमा लागेकाृ प्रहरीले घटनामा अभिभावक कै संलग्नता रहेको जनाएको छ । प्रहरीका अनुसार अमृताका बुबा राम अयोध्या साहले छोरीको हत्याका लागि २ लाख ५० हजारभन्दा बढी खर्च गरेको अनुसन्धानमा खुलेको छ ।
प्रहरीले मृतक अमृताको बुवा रामअयोध्या साह, आमा सिता देवी साह, परोहा ४ का छोटेलाल साह, देवाही गोनाही २ लक्ष्मिनीयाका शेख अलियास, इस्लाम अंसारी र शेख इम्तयाजलाई पक्राउ गरेको छ ।
हाल सम्मको अनुसन्धानले मृतक अमृताको आफ्नै गाँउका थारु भनिने सोसिन्द्र भगत सँग प्रेम सम्बन्ध रहेको खुलेको छ । जात नमिल्ने केटा सँग प्रेम गरेको भन्दै अमृताको २०७६ फागुन २५ गते सर्लाही विष्णुपुर गाउँपालिकाको मधुवन गोठका सोहन भन्ने रुपेश साह संग अभिभावकले विवाह गराइ दिएका थिए । बिहे पछि पतिको घर पुगेको चौथो दिननै अमृताका श्रीमान रुपेश माथि धारिलो चक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट गम्भीर घाईते भएका रुपेशले तिन महिनाको उपचार पछि २०७७ साउन २५ गते जिल्ला अदालत मलंगवाबाट श्रीमति सँगको सम्बन्ध विच्छेद गराएका थिए । पत्नीको अरु केटा सँगनै सम्बन्ध रहेको थाहा पाएका रुपेशले सम्बन्ध विच्छेद पछि आफूलाई आक्रमण गर्ने सोसिन्द्र र श्रीमती अमृता समेतलाई ज्यान मार्ने उद्योग अन्र्तगत मुद्दा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा दर्ता गराएका थिए ।अमृता र सोसिन्द्रको सम्बन्ध परिवारजनलाई स्वीकार थिएन । ज्वाईले सम्बन्ध विच्छेद गरेर छोरीमाथि नै मुद्दा गरे पछि छोरी पक्राउ पर्दा इज्ज्त जाने डर, प्रेमी सोसिन्द्र सँग भागेर जाने डर, घरमै राख्दा पनि गाँउलेले प्रेमीको कारण श्रीमानले छोडेको भनेर कुरा सुनाउने गरेको र अपहेलित हुने कारणले बुबा रामअयोध्या र मृतक अमृताको भिनाजु देवाही गोनाही २ का लक्ष्मण साहले हत्या गराउने निर्णय गरे ।
छोरी अृमतालाई मार्न बुबाले पहिलो पटक परोहा ४ का छोटेलाल साहलाई १ लाख ५० हजार रुपैंया दिए । हत्या गर्ने सुपारी लिएका छोटेलालले अमृतालाई भारतमा लगेर हत्या गर्ने शर्त राखेका थिए । योजना अनुरुप कार्तिक ९ गते महानवमीका दिन अमृतालाई उपचारको बहानामा भारत लग्ने र उतै मार्ने कुरा तय भएपनि भारतको बिहारमा भइरहेको निर्वाचनले गर्दा असफल भयो र अमृता पुनः घर आइन ।
पहिलो प्रयास असफल भए पछि पुनः बुबा राम अयोध्याले छोरी मार्न देवाही गोनाही २ करुनीयाका कैमुल देवानलाई १ लाख रुपैंया दिए । दोश्रो पटक पैसा दिए पछि २६ कार्तिकमा राति हत्या गर्ने योजना बन्यो र सोही अनुसार अमृताको हत्या गरियो । फिल्मी कथा जस्तो लाग्ने यस घटनामा अन्य व्यक्ति पनि संलग्न हुन सक्ने भन्दै प्रहरीले अनुसन्धानलाई निरन्तरता दिएको छ ।

तपाईको प्रतिक्रिया

Techie