प्रतिनिधि सभा विघटन मुद्दामा आजदेखि विपक्षीको बहस सुरु

काठमाडौँ- प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजदेखि विपक्षी अर्थात सरकारी पक्षको बहस सुरु हुँदैछ ।

संवैधानिक इजलासमा हुने बहसमा विपक्षीका लागि कुल १५ घण्टा समय छुट्टयाइएको छ । जसमध्ये प्रधानमन्त्री र राष्ट्रपतिका सरकारी र निजी कानुन व्यवसायीलाई १४ घण्टा र सभामुख पक्षलाई १ घण्टा दिइएको छ । सरकारी पक्षबाट आज महान्यायाधिवक्ता रमेश बडालले बहस सुरु गर्नेछन् । सरकारी पक्षले गरेको आन्तरिक व्यवस्थापन अनुसार महान्यायाधिवक्ता बडालले ३ घण्टा र नायब महान्यायाधिवक्ता पदम पाण्डेले २ घण्टा बहस गर्नेछन् ।

सरकारी पक्षले पाएको १४ घण्टामध्ये प्रधानमन्त्री र राष्ट्रपतिका निजी कानुन व्यवसायीका लागि साढे ६ घण्टा समय छुट्टयाइएको छ । यसअघि शेरबहादुर देउवासहित १ सय ४६ रिट निवेदकको तर्फबाट ३६ जना कानुन व्यवसायीले १२ घण्टा बहस गरेका थिए । रिट निवेदक तर्फका कानुन व्यवसायीले बहसमा निवेदकहरुले प्रतिनिधि सभा विघटन गर्ने कार्य असंवैधानिक भएकाले पुनःस्थापना हुनुपर्ने, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिनुपर्ने र संविधानको धारा ७६ को उपधारा (५) मा दलीय ह्विप नलाग्ने ब्याख्या गरेका छन् । जेठ ७ गते मध्यरातमा काम चलाउ प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासले संसद विघटन मुद्दाको पक्ष र विपक्ष दुबै पक्षलाई १५/१५ घण्टा बहसको समय तोकिदिएको थियो ।

तपाईको प्रतिक्रिया

Techie