काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आजदेखि अदालतको सहयोगी ‘एमिकस क्यूरी’को राय शुरु हुनेछ ।
सर्वोच्च बारका दुई जना र नेपाल बार एसोसिएशनका तीन जना सदस्य रहेको एमिकस क्यूरीका सदस्यले अदालतलाई आफ्नो राय दिनेछन् ।
एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका बद्रीबहादुर कार्की, शतिसकृष्ण खरेल र विजयकान्त मैनाली र सर्वोच्च अदालत बारका खगेन्द्र अधिकारी र पूर्णमान शाक्यले राय दिनेछन ।
एमिकस क्यूरीलाई अदालतका सहयोगी भनेर चिनिन्छ । गम्भीर संवैधानिक एवं कानुनी प्रश्न जोडिएका विषयमा सर्वोच्च अदालतले विशेषज्ञता भएका कानुन व्यवसायीहरुको राय लिन बेलाबखत एमिकस क्यूरी झिकाउने गर्छ ।
उनीहरुले दिने रायले न्यायाधीशहरुलाई न्याय निरुपणमा सहज हुन्छ । एमिकस क्यूरीले इजलासमा आफ्नो मत जुनसुकै रुपमा दिन पनि स्वतन्त्र हुन्छन् र उनीहरुले बहसनोट पनि पेस गर्छन् ।
एमिकस क्यूरीले राय व्यक्त गरेपछि सर्वोच्चको संवैधानिक इजलासले फैसला सुनाउनेछ । फागुन दोस्रो सातासम्म विघठन मुद्दामा फैसला सुनाउने सर्वोच्चको तयारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरोधमा सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए ।