पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ६२ प्रतिशत काम सम्पन्न, फिनिसिङको चरणमा (फोटो फिचर)

  • सुमन ढुंगाना

पोखरा : निर्माणाधिन पोखरा अन्तराष्ट्रिय विमानस्थलको काम धमाधम चलिरहेको छ । चिनियाँ निर्माण कम्पनी सीएमसीईले ११ अगस्त २०१७ बाट निर्माण कार्य सुरु गरेको विमानस्थलको ६२ प्रतिशत काम सम्पन्न भइसकेको छ । सन् २०२१ जुलाई १० मा विमानस्थल निर्माण कार्य सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता अनुरुप काम भइरहेको आयोजना प्रमुख विनेश मुनाकर्मीले जानकारी गराए ।

कोरोना महामारीका बेला समेत सुरक्षात्मक उपाय अप्नाउँदै काम भइरहेको थियो । चीनको एक्जिम बैंकको करिब २२ अर्ब रुपैयाँ ऋणमा बनिरहेको विमास्थलको ट्याक्सी पार्क, ह्याङगर, राजमार्ग देखि ट्रमिनल भवनसम्मको पहुँच मार्ग लगायतको काम सकिएको छ । विमानस्थलमा हाल १४ वटा भवन बनिरहेको छ । भवनको स्टकचरको काम सबै सम्पन्न भइसकेको छ भने फिनिसिङको काम भने बाँकी रहेको छ ।

कोरोना महामारीका कारण विमानस्थलको निर्माण कार्यमा समेत असर परेको छ । “लकडाउन अघि चाइनिज कामदारहरु चाइना गएका कारण उनीहरु बन्दाबन्दीको समस्याले आउन पाएनन् । चिनमा लकडाउनको सहज अवस्था भएपछि मार्च महिनामा मात्र १ सय ७ जना कामदारलाई ल्याइयो । विमानस्थलको काम हुँदैगर्दा कोरोना भाइरसको त्रासका कारण नेपालमा विमानस्थल र नाकाहरु बन्द भए । जसले गर्दा आवश्यक सामानहरु ल्याउन सकेनौं । थप कामदार समेत आउन सकेनन् । त्यसैले भनेजस्तो काम सुचारु हुन सकेन ।”, उनले भने, “अहिले भारतमा लकडाउनको अवस्था केही सहज भएपछि नाकामा रोकिएको सामान आएको छ । काम पनि सुचारु भइरहेको छ । केरुङमा रोकिएको सामान समेत आएको खण्डमा विमानस्थलको काम समयमै सकिनेछ ।”

लकडाउनको अन्त्य भएपनि विमानस्थल निर्माणमा भने प्रभाव परेको उनले बताए । चाइनाबाट कुनै पनि सामान पोखरा ल्याउँदा दुई महिना लाग्नेहुँदा समस्या भइरहेको छ । निर्माण व्यवसायीलाई कामदारको संख्यामा वृद्दि गर्न र सामान समेत ल्याउने व्यवस्था मिलाउन आग्रह गरिएको मुनकर्मीले जानकारी गराए । उनले भने, “विमानस्थलको बाहिरी काममा वर्षातले समस्या ल्याएको छ । अहिले भित्री काम मात्र भइरहेको छ । कुनै अवरोध भएन भने अब कामदारको सँख्या सँगै काम गर्ने समय बढाएर निर्धारित समयमै विमानस्थलको सम्पूर्ण काम सक्ने योजनामा छौं ।”

पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा हाल नेपाली कामदारको संख्या एक सय रहेको छ भने चाइनाका २ सय ४४ कामदार खटिएका छन् । निर्माण सामाग्री चलाउने कामदारको अभाव हुँदा भनेजस्तो गतिमा काम हुन नसकेको मुनाकर्मिले बताए ।

उनका अनुसार पोखरा अन्तराष्ट्रिय विमान स्थलमा न्यारोबोडी जहाजमात्र अवतरण गर्न सक्नेछन् । विमानस्थलमा १६० सिट देखि १९० सिट सम्मका हवाईजहाज मात्र अवतरण गर्न सक्ने छन् । पोखरा अन्तराष्ट्रिय बिमानस्थलमा एयरबक्स ३१९, एयरबक्स ३२०, बोइङ ७५७ लगायतका जहाजहरु अवतरण हुन सक्छन् ।

पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि ९७ प्रतिशत जग्गा प्राप्त भैसकेको छ भने ३ प्रतिशत जग्गा प्राप्त गर्न बाँकी छ । पहिले स्थानियबाट जग्गा अधिकरणको समस्या भएपनि अहिले नभएको उनले जानकारी गराए । पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र स्थानियको उपस्थितिमा पटकपटक छलफल गरेर समस्या टरेको हो । अबको ६ महिनाभित्र अधिग्रहणको काम सकेर बाँकी रहेको जग्गामा समेत विमानस्थलको निर्माण कार्य सुचारु गर्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

Techie