पोखरामा मापदण्ड विपरीत संचालित एक दर्जन अस्पतालको पर्दाफास (भिडियो रिपोर्ट)

काठमाडौं : पोखरा, देशको प्रमुख शहर र गण्डकी प्रदेशको राजधानी । यो भैकन पनि पोखरामा सर्वाधारणको लागि सुबिधा सम्पन्न सेवा पाउन निक्कै मुस्किल पर्दछ । झन् अझ त्यसमा पनि स्वास्थ्य जस्तो गम्भीर सेवा सुबिधाको त बिजोग नै छ पोखरामा ।

सामान्य बाहेकको गम्भीर प्रवृतिको स्वास्थ्य समस्या आइ पर्यो भने कि २ सय किलोमिटर यात्रा गर्नु पर्छ किट २५ मिनेटको हवाईयात्रा गरि संधीय राजधानी आउनुको बिकल्प छैन । हुनत पोखरामा स्वास्थ्य संस्था नभएको भने हैन । चोक चोक र गल्लि गल्लिमा अस्पतालको बिल्ला भिरेका थुप्रै स्वास्थ्य संस्थाहरु छन् ।

तर उनीहरुको काम बिरामीको उपचार भन्दा पनि सरकारी मापदण्ड लत्याएर बिरामी बाट रकम उसल्नु हो भन्दा फरक नपर्ला । अस्पताल भित्र प्रदान गरिने सेवा सुबिधाको मापदण्ड त परको कुरा सामान्य मापदण्ड पनि पालना गरेका छैनन् । तर हरेक वर्ष ति अस्पतालको नवीकरण भने भैरहेको छ । यो देख्दा हामी भन्न सक्छौ कित अनुगमन भएको छैन सरकारी निकायबाट कित टेबल मुनिबाट अनुगमन भएर टेबल मुनिबाटै नवीकरण भएको हुनुपर्दछ ।

पोखराका केही अस्पतालहरुमा सामान्य पार्किङ, ह्वीलचियर वा ट्रली गुडाउने र्‍याम्प र भुकम्प प्रतिरोधी भवन जस्ता मापदण्डहरु पालना गरेका छैनन । यसरी अस्पतालले आधारभूत मापदण्ड पूरा नगर्दा सेवाग्राही अथार्त सर्वसाधारणले दुख भोग्नु परेको छ । हतार हतार अस्पताल पुगेका सेवाग्राहीहरु सार्वजनिक पाकिङ प्रयोग गर्न बाध्य छन् ।

अस्पतालको आफ्नै पार्किङ नहुँदा पोखरामा वर्षेनी सार्वजनिक पार्किङको समस्या समेत बढ्दै गएको छ । त्यस्तै स्टेचर वा ह्वीलचियरमा अस्पताल पुग्नुपर्नेहरुलाई पनि निकै सास्ती हुन्छ । ह्वीलचियर प्रयोग गरेर दोश्रो तल्लामा जानुपर्दा अनिवार्य र्‍याम्पको प्रयोग गर्नुपर्ने हो अस्पतालहरुले । यो सामान्य मापदण्ड हो तर त्यति समान्य मापदण्ड पनि अस्पतालहरुले पालना नगर्दा विरामीहरु मर्कामा पर्ने गरेका छन् । तर पोखराका एक दर्जन अस्पतालले आधारभूत मापदण्ड पनि पुरा नगरी अस्पताल सञ्चालन गरेको पाइन्छ । जसमा यि अस्पतालहरु पर्छन् ।

१. कास्की सेवा अस्पताल

पोखरा हस्पिटल चोकमा रहेको कास्की सेवा अस्पताल ५० बेड (शैय्या) भन्दा माथी क्षमताको अस्पताल हो । सार्वजनिक पार्किङलाई नै प्रयोग गर्दै आईरहेको यो अस्पतालमा लिफ्ट र र्‍याम्प दुबै छैन । सामान्य घरमै सञ्चालित यो अस्पतालको भवन पनि भूकम्प प्रतिरोधात्मक भवन नरहेको स्पष्ट हुन्छ । साथै अस्पतालले आफ्नो पार्किङ अहिलेसम्म बनाएको छैन् । त्यही भएर सार्वजनिक जग्गामा पार्किङ गरेको पाइन्छ । अनि वाताबरणिय प्रभाव मुल्यांकन अनिवार्य गर्नु पर्छ त्यो पनि गरेको छैन ।

२. साहारा अस्पताल

५० वेड (शैय्या) को साहारा अस्पताल पोखरा महानगरपालिकाको वडा नं २ स्थित बागलुङ बसपार्कमा छ । यस अस्पतालमा समेत विरामीको सुविधाका लागि न लिफ्ट नै छ न त र्‍याम्प नै । यो भवन समेत भूकम्प प्रतिरोधात्मक भवन होइन् । बाटोको आडैमा रहेको यो अस्पताल पुग्ने सेवाग्राहीहरुले पनि सार्वजनिक पार्किङको नै प्रयोग गर्दै आएका छन् । जसका कारण बसपार्कबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधनलाई समेत सास्ती हुँदै आएको छ । आफ्नै पार्किङ बनाउनका लागि यो अस्पताल आसपासमा कुनै जग्गा समेत छैन ।

३. रिजनल अस्पताल

पोखरा महानगरपालिका वडा नं ५ जिरो किमीमा रहेको रिजनल अस्पताल ५० शैय्या क्षमताको अस्पताल हो । यस अस्पतालमा पनि पार्किङ र भवनको मापदण्ड लागू भएको पाइँदैन । अस्पताल रहेको भवन भूकम्प प्रतिरोधात्मक छैन् भने हाईवे को छेउमै सवारी पाकिङ गर्नुपर्ने अवस्था छ ।

४. नमस्ते अस्पताल

पोखरा महानगरपालिकाको वडा नं १७ विरौटामा रहेको नमस्ते अस्पताल २५ वेडको हो । यस अस्पतालमा लिफ्ट छैन तर र्‍याम्प चाहिँ भर्‍याङमाथि बनाइएको छ । सो अस्पताल रहेको भवन भूकम्प प्रतिरोधात्मक पनि होइन । अस्पतालको आफ्नै पार्किङ नहुँदा अस्पताल पुग्ने सेवाग्राहीले पार्किङ गर्नका लागि निकै सकस भोग्नु परिरहेको छ ।

५.पोखरा अस्पताल

पोखरा रङगशाला गेट अघि रहेको २५ वेडको पोखरा अस्पतालमा लिफ्ट छैन तर र्‍याम्प देखाउनको लागि टिनको पाताले बनाइएको छ । जसलाई प्रयोगमा ल्याउँदा उल्टो जोखिम छ । पार्किङ व्यवस्था नभएको हुनाले सेवाग्राहीले सडक छेउमै पार्किङ गर्न बाध्य छन् ।

६.पार्कल्याण्ड अस्पताल

पोखरा अमरसिह चोकमा रहेको पार्कल्याण्ड अस्पतालमा २५ बेड छन् । सो अस्पतालको भवन भूकम्प प्रतिरोधात्मक छैन । मुख्य चोकमै रहेको अस्पतालको आफ्नो पार्किङ छैन ।

७. अन्नपूर्ण बाल तथा महिला अस्पताल

पोखरा शिवचोकमा अन्नपूर्ण बाल तथा महिला अस्पताल २५ बेडको छ । यस अस्पतालमा न त लिफ्ट छ न त र्‍याम्प नै । अस्पतालको भवन भूकम्प प्रतिरोधात्मक छैन ।साथै पार्किङ गर्ने आफ्नै ठाँउमा पनि छैन ।

८. विजी अस्पताल

माटेपानीमा रहेको विजी अस्पतालमा २५ बेड छन् । विजीमा न लिफ्ट छ न त र्‍याम्प नै । सो भवन पनि भूकम्प प्रतिरोधात्मक छैन । सो अस्पतालले आफ्नो पार्किङको पनि व्यवस्था गरेका छैन ।

९ ओम अस्पताल

२५ वेड रहेको ओम अस्पताल पोखरा वास्तोला थरमा छ । सो अस्पतालमा लिफ्ट छैन, र्‍याम्प छ तर प्रयोगमा आएको छैन । भवन भूकम्प प्रतिरोधात्मक छैन ।

१० पद्म नर्सिङ होम्स

पोखरा न्यूरोडमा रहेको २५ बेडको अस्पतालमा न त लिफ्ट छ न त र्‍याम्पनै छ । अस्पताल भूकम्प प्रतिरोधात्मक छैन । पार्किङको व्यवस्थापन नभएको हुनाले पार्किङ सडक छेउमै गरिन्छ ।

११. लेकसिटि अस्पताल

रामकृष्ण टोलमा रहेको २५ बेडको अस्पतालमा लिफ्ट र र्‍याम्प दुवै छैन । अस्पतालको भवन भूकम्प प्रतिरोधात्मक छैन । सो अस्पतालको आफ्नो पार्किङ पनि छैन ।

१२. लेखनाथ सिटि अस्पताल

२५ बेडको लेखनाथ सिटी अस्पताल बुढि बजारमा छ । सो अस्पतालमा लिफ्ट छैन । र्‍याम्प देखाउनका लागि बनाएजस्तो देखिन्छ । टिनको पाताले बनाइएको छ । भवन भूकम्प प्रतिरोधात्मक छैन । आफ्नो पार्किङ छैन, सार्वजनिक जग्गामा पार्किङ गर्छन् ।

हामीले नाम लिएका माथिका अस्पताल अधिकांश अर्कै प्रयोजनका लागि बनाएको भवन भाडामा लिएर संचालन गरिएको हो । वातावरणीय प्रभावका हिसावले अस्पताल अत्यन्तै गम्भीर मानिन्छ । अस्पतालबाट निस्कने फोहोर अत्यन्तै बिषालु र वातावरणलाई प्रभाव पार्ने खालका हुन्छन् । जसले गर्दा पनि अनिवार्यरुपमा वातावरण मन्त्रालयबाट वातवरणीय प्रभाव मुल्यांकन अनिवार्य रुपमा गर्नुपर्छ अस्पतालहरुले र त्यो पनि गरेका छैनन् पोखराका यी अस्पतालहरुले । तर यो समेत देख्दैन यी अस्पताललाई नियमन गर्ने सरकारी निकायले ।

अस्पतालले पूरा गर्नुपर्ने मापदण्ड के-के हुन् ?

अस्पताल जनस्वास्थ्यको देखवाल गर्ने संस्था । यस्तै संस्था अर्थात् निजी अस्पताल पोखराका चोक चोक र गल्लीमा खुलेका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा रहेका अधिकांश निजी अस्पताल नियम अनुसार चलेका छैनन् । सामान्य मापदण्ड समेत पालना नगर्ने यस्ता अस्पतालहरुले विरामीसँग लिने सेवा शुल्क भने व्यवस्थित अस्पतालको जस्तै गरी लिने गर्दछन् । अस्पतालले अनुमती लिए अनुसार सेवा प्रदान गर्नुपर्छ । त्यहाँ दिइने सेवा सुविधा र राज्यले तोकेको मापदण्डको आधारमा अस्पताल सन्चालन गर्नुपर्ने हुन्छ । कति बेडको अर्थात् कति शैय्याको अस्पतालले के के मापदण्ड पुरा गर्नु पर्छ ? भन्ने नियम सरकारले स्पष्टसँग तोकेको छ ।

२०७२ बैशाखमा गएका भूकम्प र परकम्पहरुका कारण भौतिक संरचनाहरुमा ठूलो क्षति पुगेपछि भूकम्पीय जोखिमको विश्लेषण गरी राष्ट्रिय भवन संहिता १०५ लाई परिमार्जन गर्न प्राधिकरणलाई जिम्मेवारी दिइएको थियो । प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्व्यन इकाई (भवन) ले यस सम्बन्धमा काम गरेको थियो । ठूला भवनहरु सहित अस्पतालका भवनहरु अनिवार्य भूकम्प प्रतिरोधी भवनमा सञ्चालन गर्नुपर्ने मापदण्ड तोकिएको भएपनि पोखराका अस्पतालहरु भने भुकम्प प्रतिरोधी भवनमा छैनन् । यहाँका केहि अस्पतालहरु वर्षौँ पुराना घर हरुमा सञ्चालन भैरहेका छन् ।

अस्पताल रहने स्थान धुवाँ, धुलो, ध्वनि, जल तथा जमिन प्रदूषणबाट मुक्त भएको हुनुपर्ने, अस्पताल रहने क्षेत्र र हाताभित्र उपयुक्त सुरक्षाको ब्यवस्था भएको हुनुपर्ने, अस्पताल स्थापना हुने स्थान सडक यातायातको पहुँच भएको हुनुपर्दछ । पानी, बिजुली र सञ्चार सुबिधा उपलब्ध भएको हुनु पर्दछ । सवारी साधन पार्किङका लागि पर्याप्त व्यवस्था भएको, अस्पताल परिसरमा स्वस्थकर वातावरणका लागि बृक्षारोपण तथा बगैचाको व्यवस्था भएको, जोखिमपूर्ण फोहर व्यवस्थापनका लागि उपयुक्त प्रविधिको व्यवस्था गर्नुका साथै फोहरमैला व्यवस्थापन ऐन, २०६८ र फोहरमैला व्यवस्थापन नियमावली, २०७० बमोजिम फोहरव्यवस्थापनका लागि आवश्यक पूर्वाधार व्यवस्था मिलाएको लगायतका मापदण्डहरु सरकारले तोकेको छ । त्यस्तै १५ शैया भन्दा माथिका अस्पतालले अनिवार्य वातबरणिय प्रभाव मिल्यांकन गरेको हुनुपर्दछ । पोखराका निजि अस्पतालको लाजमर्दो अवस्था हेर्नेहो भने सरकारी मापदण्ड र नीति नियम कागजमा मात्र सिमित छ भनेर मज्जैले भन्न सकिन्छ । आधारभूत मापदण्ड समेत पालना नगरेका दर्जन अस्पतालहरु नवीकरण भने भैराखेका छन् ।

अस्पताल सेवा सञ्चालन गरिने भवनको नक्सा र डिजाइन भवन ऐन, २०५५ को दफा ११ मा भएको व्यवस्था अनुरुप स्वीकृत भएको हुनु पर्ने भनेर स्पष्टसँग तोकिएको छ । भवन संहिता तथा सम्बन्धित नगरपालिका वा नगर विकास समितिले जारी गरेको मापदण्ड बमोजिम सो भवन निर्माण भएको सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालयबाट सिफारिस प्राप्त गरेको हुनु पर्नेछ । त्यस्तै भवनमा सर्वसाधारणको जानकारीका लागि प्रकोप व्यवस्थापन तयार गरी सुरक्षा सम्बन्धी संकेत चिन्हहरु उपयुक्त स्थानमा प्रस्ट देखिने गरी राखिएको हुनु पर्ने मापदण्ड रहेको छ । त्यस्तै अस्पतालको कोठाहरु उपयुक्त भेन्टीलेसन वा वातानुकुलित यन्त्र राखिएको हुनु पर्ने, अस्पतालमा प्रशासनिक कार्यालय, ओ.पी.डी., प्रयोगशाला, वार्ड, फार्मेसी, क्यान्टिनको व्यवस्था हुनुपर्ने पनि मापदण्ड तोकिएको छ, अस्पतालमा व्हिलचेयर तथा ट्रलिको सहज आवागमनको व्यवस्थाका लागि लिप्mट÷¥याम्पको व्यवस्था भएको हुनुपर्ने भनिएको छ ।

प्रतिक्षालयमा आवश्यकतानुसार बस्ने कुर्सीको व्यवस्था हुनुपर्ने र सूचना–पाटी,टेलिभिजन,पत्रपत्रिका लगायतका माध्यमबाट सूचना प्रदान गर्ने व्यवस्था अस्पतालले मिलाउनुपर्ने समेत मापदण्डमा रहेको छ ।

अस्पतालको कुल निर्माण क्षेत्रफल, प्रति शैया ५५ वर्ग मीटरका दरले हुनु पर्ने, उक्त क्षेत्र भित्र सोधपुछ, दर्ता कक्ष, प्रतिक्षालय, प्रवेशद्वार सहितको हलको क्षेत्र समावेश भएको हुनुपर्ने र सो बाहेक भान्सा घर, लुगाधुने कोठा, जेनरेटर कक्ष, कर्मचारी आवास तथा भण्डार कक्ष, मर्मत सम्भार कक्ष आदिका लागि थप व्यवस्था गरेको हुनुपर्ने पनि मापदण्डमै रहेको छ ।

विषयमा अधिकांश अस्पतालका संचालकहरु हामीसँग कुरा गर्न चाहेनन् । हाम्रो क्यामरामा मुस्किलले बोलेका लेकसिटि अस्पतालका मेडिकल निर्देशक पनि स्वीकारिरहेका छन् कि हो हामीले सबै मापदण्ड पुरा गरेको त छैन तर पूरा गर्ने चरणमा छौं ।

त्यस्तै पोखरा शिबचोकमा रहेको आन्पूर्ण बाल अस्पतालका संचालक डा शंखर पोखरेल पनि आफ्नो अस्पतालले सरकारी मापदण्ड पुरागर्न नसकेको स्विकार्छन् ।

यता जमानाको थोत्रो र जीर्ण भवनमा संचालित साहारा अस्पताल जुन शारीरिक अशक्त मैत्री छैन, जसका संचालक गिरधारी शर्मा भनिरहेका छन् हाम्रो अस्पताल नवीकरण गरिएकै छ भन्छन् अनि मापदण्ड पूरा नगरेको पनि हो भन्छन् ।

तीनै जना अस्पताल संचालकको भनाइबाट यो प्रमाणित भएको छ कि ति अस्पतालहरु आवश्यक आधारभूत मापदण्ड पनि पुरा गरेका छैनन् तर वार्षिकरुपमा नवीकरण भने भैराखेका छन् । भने पछि सरकारी नियमक के को आधारमा त्यस्ता अस्पतालको नवीकरण गरिराखेको छ त ? यो प्रश्न अत्यन्तै गम्भीर छ । र अख्तियार दुरुपयोग भएको छ भनेर भन्न मिल्छ ।

हामीले गण्डकी प्रदेशका प्रदेश स्वास्थ्य निर्देशक डा बिनोद बिन्दु शर्मालाई प्रश्न राख्यौं के सामान्य मापदण्ड पूरा नगरेका अस्पतालहरुलाई किन कारबाही नगर्नुभएको भनेर तर उनको जवाफ आउँछ मापदण्ड सबै अस्पतालले पूरा गर्नेपर्छ अनि हामी ६ ,६ महिनामा अनुगमन गरेका छौं भनेर ।

तपाईको प्रतिक्रिया

Techie