पुनर्निर्माण प्राधिकरणको समयावधि एक वर्षका लागि थप

काठमाडौ । सरकारले गोरखा भूकम्पको पुनर्निर्माणमा सहजीकरणका लागि भन्दै गठन गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समयावधि एक वर्षका लागि थप गरेको छ । २०७२ सालको पुष ११ गते गठन भएको प्राधिकरणको कार्यकाल यही पुष १० गते सकिंदै थियो । मन्त्रिपरिषद्को पछिल्लो बैठकले प्राधिकरणको समयावधि पुष १० गतेबाट लागू हुने गरी एक वर्षका लागि थप गर्ने निर्णय गरेको हो । त्यसको औपचारिक पत्र आइतबार प्राप्त भएको प्राधिकरणले जनाएको छ । भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माण सम्बन्धी ऐन अनुसार बमोजिम प्राधिकरणको अवधि एक वर्ष थप गरिएको मन्त्रीपरिषद्को निर्णयमा उल्लेख छ । प्रधानमन्त्री अध्यक्षताको प्राधिकरणको निर्देशक समितिको सिफारिस अनुसार म्याद थप गरिएको हो । कोरोना महामारीका कारण स्रोत व्यवस्थापन र निजी आवास पुनर्निर्माणतर्फ सीमान्तकृत घरपरिवारले घर बनाई नसकेका कारण म्याद थपको सिफारिस गर्ने निर्णय समितिले गरेको थियो । गोरखको बारपाकलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको साढे ५ वर्ष बितिसक्दा पनि निजी आवासतर्फ ७१ प्रतिशत काम मात्र सम्पन्न भएको छ । निजी आवास निर्माणलाई प्राथमिकतामा दिंदा पुरातात्विक सम्पदाको पुनर्निर्मणमा ढिलाई भएको प्राधिकरणले जनाएको छ । समयावधि २०७८ सालको पुष ९ गतेसम्म कायम भएपनि अधिकांश स्थानमा पुनर्निर्माणको काम जारी रहेकाले यही आर्थिक वर्षभित्र पुनर्निर्माण सक्ने प्राधिकरणको दावी छ । प्राधिकरणले थपिएको अवधिमा निजी आवास, सिंहदरबार, रानपिोखरी एवं धरहरा पुनर्निर्माणसँग सम्बन्धित अन्तिम फर्स्यौट गर्नुपर्ने कार्य गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

Techie