पहिरोको घेराबन्दीमा जुगल गाउँ

सिन्धुपाल्चोक । २०७२ सालको भूकम्पमा नै रेड जोनमा परेको सिन्धुपाल्चोकको जुगल गाँउपालिका–३, बोल्देगाँउका दुइ सय साठीभन्दा बढी परिवार पहिरोका कारण जोखिममा परेका छन् । भूकम्पले थर्काएको गाँउभन्दा मुनीबाट विस्फोटक पदार्थ प्रयोग गरी सडक निर्माण गरेपछि गाँउ नै जोखीममा परेको हो ।
गुजल गाँउपालिकाको बोल्दे गाँउ भन्दा करिब तीन सय मिटर मुनिको बाटोबाट सातवटा हाइड्रोपावर कम्पनीका सवारी साधन ओहोरदोहोर गर्छन । बिस्फोट गरी निर्माण गरिएको सडकमा उच्च भारका सवारीसाधन गुड्दा जमीन थर्कीएर पहिरो जान थालेको हो । गाँउको ठिक मुनी पत्रे चट्टानको पहिरो जान थालेपछि कतिबेला गाँउ नै पहिरोको चपेटामा पर्ने हो भन्ने डरले स्थानीय रातभर सुत्न सक्दैनन् । जमिन भासिएर घर नै चर्किएपछि राती गोठमा गएर सुत्ने गरेको स्थानीय बताउछन ।
यसवर्षको भारी वर्षादले जमिन गलाउँदा झरेको पहिरोले पारीको लिदी गाँउमा ३९ जनालाई एकै चिहान बनाएपछि स्थानीय झनै त्रसित बनेका हुन् । सो सडक मर्मत गरी सञ्चालन गर्दा अझै जोखिम बढ्ने डर भएपछि उनीहरुले सरोकार समिती नै गठन गरेर जलविद्युत तथा गाँउपालिका र जिल्ला प्रशासन कार्यालयमा समेत ज्ञापनपत्र बुझाएका छन ।
ज्ञापनपत्र बुझ्दै याम्बालिङ जलविद्युत आयोजनाका प्रतिनिधिले स्थानीयको गुनासो सम्बोधनको प्रयास गर्ने बताएका छन ।
जनप्रतिनिधिहरुले भने विद्युत आयोजनाहरुले स्थानीयसँग छलफल गरेर मात्रै काम अघि बढाउनुपर्ने बताएका छन । आफुहरु विकास विरोधी नभएको तर बस्ती नै जोखिममा परेपछि सुरक्षित ठाँउमा स्थान्तान्तरण गरेर मात्रै काम अघि बढाउनुपर्ने उनीहरुको भनाइ छ ।

गाँउपालिकाले भने जोखिममा रहेको बस्तीहरुको भौगर्भिक अध्ययनको तयारी भइरहेको र त्यसबाट प्राप्त निश्कर्षको आधारमा स्थानान्तरण गरिने जनाएको छ । त्यसका लागि सम्बन्धित वडाध्यक्षको संयोजकत्वमा जग्गा खोजी समिति गठन गरिएको छ ।

बोल्दे नजीकैको घट्टेखोलामा गत साउनमा खोला नै दविएपछि स्थानीयको ६२ घर समेत उच्च जोखीममा परेको छ । जमीन भासीएर घर नै चर्कीन थालेपछि स्थानीयहरु घर छाडेर अन्यत्रै बस्न थालेका छन् । करिब १३ सय जनसंख्या रहेको बोल्दे र घट्टेखोलाका स्थानीयले सरकार र हाइड्रोपावरले आफुहरुको वस्ती स्थानान्तरणमा सहयोग गर्नुपर्ने स्थानीयको माग छ । बोल्दे सहित जुगल गाँउपालिकामा मात्रै ५ सय २३ घर जोखिममा रहेका छन ।

हेर्नुहोस् भिडियो

 

तपाईको प्रतिक्रिया

Techie