पटक पटक स्थगित हुँदै आएको नेकपा स्थायी समिति बैठक आज बस्दै

काठमाडौं : पटक पटक स्थगित हुँदै आएको नेकपाको स्थायि समिति बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार बालुवाटारमा भएको छलफलपछि आज एघार बजेका लागि बैठक बोलाइएको हो ।

पार्टीमा देखिएको विवादमा सहमति खोज्नका लागि स्थायी समिति अघि दुई अध्यक्षविच छलफल भने जारी रहने बताइएको छ । लगातार छलफल भएपनि ओली र दाहालबीच अझै कुरा मिलेको छैन । प्रधानमन्त्री ओलीले अझै पनि दाहालसँग राजीनामाबाहेकका एजेन्डामा मात्र छलफल गर्न भनिरहेका छन् । तर अध्यक्ष दाहालले ओलीले राजीनामा दिनुपर्ने अडानमै छन् ।

असार १८ गते प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गरेपछि स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको छ । यसअघि असार २२ गतेका लागि तय गरिएको बैठक पार्टीभित्र देखिएको विवादका कारण सहमति खोज्न भन्दै स्थगित गरिएको थियो ।

स्थायी समिति बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने माग भएपछि नेकपामा विवाद चुलिएको छ । प्रधानमन्त्री ओलीले स्थायी समितिले दवाब दिँदैमा आफूले पदबाट राजीनामा नदिने बरु जस्तोसुकै परिस्थिति पनि सामना गर्ने चुनौती दिँदै आएका छन् । पार्टी विभाजनको अवस्थामा पुगेपछि दुई अध्यक्षले आइतवारदेखि निरन्तर छलफल गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

Techie