नेप्से परिसूचक उच्च विन्दुमा

काठमाडौ । साताको अन्तिम कारोबारमा पनि सेयर बजार सूचक नेप्से परिसूचक २ हजार ४ सय अंक नजिक पुगेको छ । ३१ अंकले बढेर नेप्से २३ सय ७४ दशमलव ६४ बिन्दूमा पुग्यो । यो वृद्धि १ दशमलव ३६ प्रतिशत हो । बैंकिङ र म्युचुअल फन्डबाहेक सबै समूहको परिसूचक बढेको छ । निर्जीवन बीमा र जीवन बीमा समूहमा लगानीकर्ताको आकर्षण उल्लेखनीय देखिएको छ । निर्जीवन बीमा झन्डै ५ प्रतिशतले बढेको छ । माइक्रोफाइनान्स समूहमा ४ प्रतिशतको वृद्धि छ । त्यसबाहेक जलविद्युत क्षेत्रमा ३.७७ प्रतिशतको वृद्धि भएको छ । फाइनान्स र जीवन बीमा समूहका परिसूचक २ प्रतिशतभन्दा बढी अंकले वृद्धि भएका छन् । बैंकिङ समूहमा भने ३.८३ अंकले गिरावट आएको छ । बिहीबार कारोबार रकम ७ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । ६९ हजार ३ सय ३३ पटकमा १ करोड ८१ लाख कित्ता सेयर कारोबार भएका छन् । कारोबार बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी हो । नेपाल लाइफको ५३ करोड ३३ लाख रुपैयाँ बराबर कारोबार भएको छ । यसको अन्तिम कारोबार मूल्य प्रति कित्ता दुई हजार ९ सय ८ रुपैयाँ पुगेको छ । त्यसबाहेक पुनर्बीमा कम्पनी, प्रभु बैंक, नेपाल टेलिकम, एनआइसी एशिया बैंक लगायतका कम्पनीको उच्च कारोबार भएको छ । कोरोना भाइरसका कारण समग्र लगानीका क्षेत्र प्रभावित भएपछि सेयर बजारमा लगानीकर्ताहरू झुम्मिएका छन् । बैंकमा अधिक तरलता थुप्रिने र रेमिट्यान्सको आप्रवाह निरन्तर बढी रहेको अवस्थामा लगानीकर्ताहरू आफुसँग भएका पैसा सेयर बजारमा आकर्षित भएका हुन ।

तपाईको प्रतिक्रिया

Techie