नेपाल सुपर लिग फुटबल वैशाखमा

काठमाडौं : नेपाल स्पोर्टस एण्ड ईभेन्टस म्यानेजमेन्टले फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग गर्ने घोषणा गरेको दुईवर्षपछि लिग गर्ने मिति सार्वजनिक गरेको छ । अखिल नेपाल फुटबल संघ एन्फासँग फ्रेन्चाइज लिगका लागि २०७५ सालको पुष महिनामा सम्झौता भएको थियो । सम्झौता अनुसार २०७६ सालको वैशाखमा लिग गर्ने तय भएको थियो ।

सम्झौताको लामो समयपछि अन्तत यही वैशाख ११ गतेदेखि दशरथ रङ्गशालामा नेपाल सुपर लिग हुने भएको छ । लिगमा विभिन्न शहरका सात टिमको सहभागिता रहनेछ । टिमको नाम, खेलाडीहरूको विस्तृत जानकारी, पुरस्कार रकम र अक्सनको स्वरूप विस्तारै सार्वजनिक गरिने आयोजकले जनाएको छ । विदेशी खेलाडीको हकमा एक टिमले तीन खेलाडी राख्न पर्ने र दुई खेलाडी मैदानमा उतार्नु पर्ने बताइएको छ ।

एन्फाले १४ वटा ए डिभिजन क्लबबाट १ सय ४० खेलाडी छनौट गरेर घरेलु खेलाडीको वर्गिकरण गर्ने छ । यो लिगको लागि एन्फाको प्राविधिक सहयोग रहनेछ । एन्फाले आयोजकलाई खेलाडी ट्रान्सफरको लागि भने दुई महिनाको समय दिएको छ।

सात टिमबीच सिंग्ल राउण्ड रोबिनको आधारमा १५ दिनमै सकिने गरी लिग सञ्चालन हुनेछ । प्रतियोगिता अन्तर्गत कुल २१ खेल हुनेछ र सबै खेल दशरथ रङ्गशालामा हुनेछ । फ्रेन्चाइजको अवधारणामा नेपाली फुटबलमा हुन लागेको यो पहिलो प्रतियोगिता हो ।

तपाईको प्रतिक्रिया

Techie