नेपाल समूहको छुट्टै राजनीतिक प्रस्ताव: ओली नेतृत्वमा आएकैले एमालेभित्र समस्या देखिएको आरोप

काठमाडौँ । नेकपा एमालेको असन्तुष्ट पक्षले आफ्नो तर्फबाट छुट्टै राजनीतिक प्रस्ताव तयार पारेको छ। चैत्र ४ र ५ गते सम्पन्न आफ्नो राष्ट्रिय कार्यकर्ता भेलामा केन्द्रीय कमिटीका तर्फबाट वरिष्ठ नेता माधवकुमार नेपालद्वारा प्रस्तुत तथा भेलाबाट पारित राजनीतिक प्रस्ताव तयार पारेको हो।
उक्त प्रस्तावलाई संशोधनसहित मातहतका कमिटीमा पठाएको छ ।प्रस्तावमा एमालेको नवौं महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीको उदय भएपछि नै पार्टीमा समस्या देखिन थालेको उल्लेख छ । नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यक्रमको विपक्षमा उभिएका ओली नेतृत्वमा आएकैले एमालेभित्र समस्या देखिएको नेता नेपालले बताएका छन् ।

प्रस्तावमा ओलीले पार्टी र आन्दोलनलाई विभाजन र विघटनको दिशातर्फ धकेल्दै लगेको गम्भीर अवस्थाबारे उल्लेख गरिएको छ।

पार्टीमा विकसित अवस्थालाई यो पक्षले असाधारण परिस्थितिको रुपमा व्याख्या गरेको छ।
‘वस्तुतः नेता र नीतिको अन्तरविरोध संस्थागत गरेर नवौं महाधिवेशन सम्पन्न भयो । नवौं महाधिवेशनपछि पार्टीलाई विचारहीन बनाउन पार्टी अध्यक्ष स्वयं योजनाबद्ध रुपले अगाडि बढ्नुभयो’, प्रस्तावमा ओलीबारे भनिएको छ ।

ओलीको सामर्थ्य नै गुटबन्दी भएकाले अध्यक्ष भए पनि त्यसलाई निरन्तरता दिइएको पनि प्रस्तावमा उल्लेख गरिएको छ । ‘ओलीको राजनीतिक सामर्थ्य गुटबन्दी थियो । र, त्यस गुटबन्दीको कुनै वैचारिक तथा राजनीतिक प्रस्ताव वा आधार थिएन, केवल पद र शक्तिको लालसा थियो’, प्रस्तावमा भनिएको छ ।

त्यसका लागि दृष्य–अदृष्य श्रोतहरु मार्फत् मदन भण्डारी फाउण्डेसन परिचालन गरेको आरोप लगाइएको छ । ‘उहाँले आफू र आफ्नो गुटलाई मदन भण्डारी र जनताको बहुदलीय जनवादको उत्तराधिकारीका रुपमा प्रचार गराउनुभयो’, प्रस्तावमा उल्लेख छ ।

नेकपा माओवादी केन्द्रसँगको एकता पनि व्यक्तिगत स्वार्थ पूरा गर्ने उद्देश्यले ओलीबाट भएको प्रस्तावमा उल्लेख गरिएको छ । व्यक्तिगत स्वार्थ पूरा नहुने अवस्थामा ओलीले जनवादी केन्द्रीयताको नीति समेत पालना नगरेको आरोप लगाइएको छ ।

 Madhav nepal paripatra

तपाईको प्रतिक्रिया

Techie