नेपाल प्रहरीका १० एसएसपीको डीआईजीमा बढुवा सिफारिस

काठमाडौं : नेपाल प्रहरीका दश प्रहरी वरिष्ठ उपरीक्षक ‘एसएसपी’हरु प्रहरी नायब महानिरीक्षक ‘डीआईजी’मा बढुवाको लागि सिफारिस भएका छन् । गृहमन्त्रालयमा गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले रिक्त दस डीआईजी पदमा उनीहरूलाई बढुवाको लागि सिफारिस गरेको हो ।

समितिले एसएसपीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुल बहादुर थापा, धिरजप्रताप सिंहलाई बढुवामा सिफारिस गरेको हो । त्यस्तै बसन्तकुमार लामा, रवीन्द्रसिंह धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बिसीपनि बढुवामा परेका छन् ।

गृह सचिव न्यौपाने अध्यक्ष रहेको बढुवा समितिमा आईजीपी ठाकुरप्रसाद ज्ञवाली सदस्य र एआईजी शैलेश थापा क्षेत्री सदस्य सचिव छन । बढुवाका लागि ३४ एसएसपी प्रतिष्पर्धामा रहेका थिए । अघिल्लो मन्त्रीपरिषद बैठकले २६ डीआईजी दरबन्दीलाई १४ मा झारेको थियो ।

बढुवासँगै सबै प्रदेश प्रहरी कार्यालयले नेतृत्व पाएको छ । प्रदेशसँगै महानगरीय प्रहरी कार्यालय रानीपोखरी, केन्द्रिय अनुसन्धान ब्यूरो, अख्तियार, विशेष ब्यूरो, राष्ट्रिय सुरक्षा परिषद, प्रहरी प्रधान कार्यालय र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा डीआईजी रहनेछन् ।

तपाईको प्रतिक्रिया

Techie