नेपाल, नेपाली र नेपाली संगीत विश्वभर फैलाउँदै बेलायती नागरिक एलेक्जेण्डर स्लोकुम

  • सुमन ढुंगाना

पोखरा : वर्षेनी हजारौं नेपाली युवा रोजगारीका लागि परदेश जान्छन् तर एक जना यस्ता परदेशी छन्, जो नेपाली माटोलाई उर्भर बनाउन स्वदेश फर्क भन्दै गीतमार्फत विदेशिएका नेपालीलाई हौसला प्रदान गर्छन् । उनले गीत मात्र गएका छैनन्, नेपाली संस्कृति कला र संगीतलाई विश्वसामु फैलाएका छन् ।

शिरमा ढाका टोपी, ढाकाकै स्टकोट, गितार भिरेपछि ठ्याक्कै नेपाली जस्तै देखिन्छन् यी बेलायती नागरिक, एलेक्जेण्डर स्लोकुम । तर उनी आफुलाई यो नामले बोलाएको मन पराउँदैनन् । उनी आफुलाई एलेक्स बहादुर नेपाली भन्न मन पराउँछन् । सन् २०१२ मा पहिलो पटक नेपाल आएका उनी नेपालको प्रकृति र आतिथ्यता अत्यन्तै मन परेर हरेक वर्ष नेपाल घुम्न र बुझ्न आउन थाले । हाल सम्म ८ पटक नेपाल आइसकेका छन्, उनी ।

नेपाल आएर यहाँको विभिन्न क्षेत्रमा पुगी नेपाली भाषा, संस्कृति र संगीत सिक्नु उनको रुची हो । उनले हालसम्म दर्जन बढी नेपाली गीत सिकिसकेका छन् भने आफैंले २ वटा नेपाली गित बनाएका पनि छन् । उनले नेपाली संगीत सिकेका मात्र छैनन्, विश्वका जुन जुन देश र शहरमा पुग्छन् त्यहाँ उनले नेपाली संगीत र संस्कृतिको प्रचारप्रसार पनि गर्छन् । लण्डन, फ्रान्सको पेरिस लगायतका झण्डै १ दर्जन शहरमा पुगेर नेपाली गीत गाइसकेका छन् । र छिट्टै नेपाली संगीत महोत्सव गर्ने उनको योजना छ ।

नेपालको जस्तो प्राकृतिक सुन्दरता विश्वको कुनैपनि मुलुकमा नभएको उनको विचार छ । यहाँका मानिसको आत्मियताले उनलाई अत्यन्तै लोभ्याएको छ । ‘नेपाल एकपटक घुम्न आउनुपर्ने देश हो विश्वभरिका मानिसका लागि’ भन्दै उनी सबैलाई नेपाल घुम्न निमन्त्रणासमेत दिन्छन् ।

हुनत संसारका थुप्रै मुलुकबाट पर्यटकहरु नेपाल धुम्न आउँछन् तर पटक–पटक आउने र नेपाल, नेपाली र यहाँका संस्कृतिलाई आफैंमा समाहित गर्ने पर्यटक भेट्न निक्कै मुस्किल पर्छ । र त्यही मुस्किल भित्रको सहज बनेका छन् बेलायती नागरिक एलेक्जेण्डर स्लोकुम अर्थात् एलेक्स बहादुर नेपाली ।

तपाईको प्रतिक्रिया

Techie