नेपाल-चीन सिमाका विषयमा बोलेको भन्दै सिडिओसंग गृहले माग्यो स्पष्टिकरण

काठमाडौ । हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई नेपाल चीन सीमा अतिक्रमण बारे सञ्चार माध्यममा बालेको भन्दै गृह मन्त्रालयले स्पष्टीकरण सोधेको छ । प्रशासन शाखाले ‘नेपाल-चीन सीमा जस्तो संवेदनशील विषयमा तालुक निकायलाई जानकारी नदिइ के कति कारणले सञ्चार माध्यममा अभिव्यक्ति दिनु भएको हो सो सम्बन्धमा २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्नुहुन आदेश अनुसार अनुरोध छ’ भन्ने पत्र पठाएको हो ।

दुई साताअघि सहायक प्रजिअ हमाल नेतृत्वको टोली नेपाल-चीन सिमाना नाम्खा गाउँपालिका-६, लाप्चाक्षेत्रमा पुगेर स्थलगत अध्यन गरेको थियो । सहायक प्रजिअ हमालले जनप्रतिनिधिहरु र स्थानीय बासिन्दाको भनाइलाई आधारमा चीनले नेपाली भूमिमा भवन बनाएको हुन सक्ने आशयको प्रतिवेदन जिल्लामा पेश गरेका थिए ।

उक्त प्रतिवेदन गृह मन्त्रालयमा पनि पठाइएको थियो । सोही प्रतिवेदनको आधारमा हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीसहितको टोली सीमा अनुगमन र हराएको भनिएको सिमास्तम्भ खोज्न नाकामा गएको छ ।

हमालले दिएको सूचनाका आधारमा विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशन-प्रशारण गरेपछि काठमाडौँमा चीनबिरुद्ध प्रदर्शन समेत भएको थियो । यस्ले गर्दा दुई देशबीचको सम्बन्धमा विवाद ल्याएको भन्दै उनलाई स्पष्टीकरण सोधिएको हो ।

असोज ३ गते शनिबार सीमातर्फ गएको अनुगमन टोली सदरमुकाम फर्किनसकेको अबस्थामा घटनास्थलको बास्तविकता बाहिर नआउँदै मन्त्रालयले हमाललाई २४ घण्टाभित्र स्पष्टीकरण सोधेको छ । तर सरकारले नियमित पत्रकार सम्मेलन मार्फत हुम्लामा चीनले सीमा अतिक्रमण नभएको स्पष्ट पारिसकेकोे छ ।

तपाईको प्रतिक्रिया

Techie