नेपालको दुई वटा इलेक्ट्रोनिक रेल जनकपुर आइपुग्यो

काठमाडौ । भारतको जयनगरबाट नेपालका लागि प्रस्थान गरेको नेपाली रेल जनकपुर आइपुगेको छ । रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै शुक्रबार जनकपुर आइपुगेको हो । एकैसाथ जनकपुर आइपुगेका २ वटा रेल हेर्न स्थानीयवासीहरुको घुइँचो लागेको थियो ।१००
जनकपुरधामको रेल्वे स्टेशनमा आज विहानै देखि मानिसहरुको चहल पहल थियो । रेल कतिबेला आउनेछन सबैले प्रतिक्षा गर्दै थिए । बिहिवार भारतको जयनगर रेल्वे स्टेशनबाट रेल जनकपुर आउने खबर सञ्चार माध्यममा आएपछि शुक्रबार बिहानैदेखि स्थानीय रेलको प्रतिक्षामा थिए । भारतको इनरवा, खजुरी, बैदेही, परवाहा हुँदै रेल शुक्रबार दिउँसो करिब दुई बजे जनकपुरधाम आइपुगेको थियो । रेल आएसँगै जनकपुरको रेल्वे स्टेशनमा मानिसको भीड बढेको थियो । रेलको स्वागतका लागि जयनगरबाट जनकपुरधामको बीचमा रहेका सबै स्टेशनमा स्थानीयको भीड लागेको थियो ।
जनकपुरधाममा मंसिरवाट रेल चलाउने तैयारी शुरु गरिएको छ । भारतको जयनगरबाट दैनिक जनकपुरधामको कुर्थासम्म रेल चल्ने छन । भारतको मद्रासस्थित इन्टीग्रल कोच फ्याक्ट्रीमा बनेको रेल नेपालको नक्शाको रंगको रहेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । भारतको मद्रासस्थित कारखानामा बनेको रेल बिहारको हाजीपुरस्थित रेल्वे स्टेसनमा ६ महिनाअघि नै आइसकेको थियो । सम्झौता अनुसार मोबिलाइजेसनको २० प्रतिशत रकम नेपाल सरकारले बुझाइसकेको छ । मिश्रले बाँकी ८० प्रतिशत रकम रेल जनकपुरधाम आएर परीक्षण भए पछि भुक्तानी गरिने बताए । राम–जानकी विवाह पञ्चमीको तिथिबाट रेल सञ्चालनमा आउने भनेर गतवर्ष नै रेल विभागका पदाधिकारीले आश्वासन दिए पनि रेल जनकपुरधाम नआउँदा स्थानीय निराश भएका थिए । ६ वर्षदेखि रेल सेवा अवरुद्ध हुँदा घुमाउरो बाटोबाट गन्तव्यसम्म जान बाध्य सर्वसाधारण रेल आएसँगै खुशी भएका छन् । रेलको एक सेटमा पाँच वटा डिब्बा रहनेछन । ती डिब्बामा एक पटकमा करिब १३ सय यात्रु अटाउने छन । रेलले दिनमा तिन पटक जनकपुर जयनगर ओहोर गर्नेे छ । पहिलो चरणमा जयनगर–जनकपुर–कुर्था (३५ किमि) को रेल सेवा सञ्चालन गर्ने तयारी दुवै देशका प्राविधिकले गरेका छन । दोस्रो चरणमा कुर्था–भंगहा (१७ किमि) तथा तेस्रो चरणमा भंगहा–बर्दिबास (१७ किमि) गरी कुल ६९ किलोमिटर लामो रेल विस्तार आगामी ३ वर्षभित्र पूरा हुने नेपाल रेल्वे कम्पनीका इन्जिनियर विनोद ओझाले बताए । भारत सरकारको १० अर्ब रुपैयाँको सहयोगमा उक्त रेलमार्ग निर्माण भएको हो । निर्माण भएको रेलमार्ग ब्रोडगेज हो ।

तपाईको प्रतिक्रिया

Techie