नेकपा स्थायी कमिटी बैठक सोमबारसम्मका लागि स्थगित

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । आज विहान ११ बजेका लागि बोलाइएको बैठक आगामी सोमबारसम्मका लागि स्थगित गरिएको हो । जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग भएपछि पार्टीमा देखिएको विवाद उत्कर्षमा पुगेपछि सहमति प्रयासका लागि बैठक स्थगित गरिएको हो ।

बिहीबार पनि स्थायी कमिटी बैठक केही बेर बसेर स्थगित भएको थियो । सोमबारसम्ममा प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले विवादास्पद विषयमा सहमति जुटाउन प्रयास गर्ने बताइएको छ ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबैवाट राजिनामा माग भएपछि ओलीले छलफलका लागि समय माग गरेकाले स्थायी कमिटी तीन दिनका लागि स्थगित गरिएको बताइएको छ । प्रधानमन्त्री ओलीले गम्भीर छलफल गर्नुपर्ने भन्दै थप समय माग गरेकाले बैठक स्थगित गरिएको नेताहरुले बताएका छन् ।

सहमति प्रयासका लागि शुक्रबार दुई अध्यक्षकाबीचमा भएको छलफल भने निस्कर्षविहीन भएको थियो । प्रधानमन्त्री ओलीले गत आइतबार दिएको विवादास्पद अभिव्यक्तिका कारण नेकपाभित्र विवाद चर्केको छ । सोही अभिब्यक्तिका कारण उनको स्थायी समितिमा प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा माग भएको छ । विवादकाबीच प्रधानमन्त्री ओलीले पार्टीभित्र सल्लाह नै नगरी संसद अधिवेशन अन्त्य गरेपछि विवाद झनै चर्केको छ ।

तपाईको प्रतिक्रिया

Techie